एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा सहमति जनाउँदै खेलाडीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
पौडीवाज इर्भिन श्रेष्ठ, माधवी केसी र निर्णय थापाले आफूहरूलाई मौका समेत नदिई नेपाल पौडी संघले आफूखुसी खेलाडी छनौट गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
उनीहरूले नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुदलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
शुक्रबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुबै पक्षलाई असार ३ गतेका लागि छलफलमा बोलाएको हो।
रिटमा वैशाख १७ गते नेपाल पौडी संघले सूचना जारी गर्दै तेस्रो नेपाल एक्वाटिक स्विमिङ च्याम्पियनशिप जेठ २३ र २४ गते हुने सूचना जारी गरिएको थियो।
यो सूचना अनुसार प्रतियोगिताबाट जापानमा हुने २०औं एशियाली खेलकूदका लागि पुरूष र महिला गरी ८- ८ जना खेलाडी प्रिक्वालिफिकेशनका लागि छनौट गर्ने थियो।
जेठ २३ गते च्याम्पियनशिपको पहिलो दिनको खेल सकिएको थियो। तर खेल आधा सकिसकेपछि जेठ २४ गते बिहान संघले सूचना टाँसेर नेपाल एक्वाटिक च्याम्पियनशीपलाई नै एशियाली खेलकुदको अन्तिम छनौटमा परिणत गरेको हुँदा आफूहरूलाई अन्याय भएको रिट निवेदकहरूको भनाइ छ।
‘यसरी खेलको आधा अवधि व्यतीत भइसकेपछि, प्रतिस्पर्धाको बीचमा छनोटको मापदण्ड र नियम परिवर्तन गर्नुको पछाडि राष्ट्रिय खेलकुद परिषदले जेठ २२ गते पत्र लेखी ५ दिनभित्र खेलाडी छनोट गरी पठाउनू भनी दिएको ताकेतालाई बहाना बनाइएको देखिन्छ,’ निवेदनमा उल्लेख छ।
यसकारण निवेदकहरूले संघले जेठ २४ गते जारी गरेको सूचनालाई बदर गर्न माग गरेका छन्।
साथै वैशाख १७ गते र जेठ ७ गते जारी भएको सूचना बमोजिम नै निष्पक्ष र पारदर्शी रूपमा महिला र पूरूषतर्फ ८/८ जना खेलाडीहरूको प्रि क्वालिफिकेशन कायम गरी असारको तेस्रो साता अन्तिम छनोट प्रतियोगिता सम्पन्न गर्नू गराउनू भनेर परमादेशको माग गरेका छन्।
त्यस्तै मुद्दा किनारा नलाग्दासम्म जेठ २४ गतेको सूचना र सोको आधारमा गरिएको छनोटलाई यथास्थितिमा राख्न माग गरी अन्तरिम आदेश समेत मागिएको छ।
साथै, यस मुद्दालाई अग्राधिकारमा राख्न समेत मागिएको छ।