सरद भेषवाकरको औंला भाँच्चिएर नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट अलग भएपछि टिममा परेका सागर पुनले उत्कृष्ट पुनरागमन गरेका छन्।
सन् २०१७ को डिसेम्बरमा विश्व क्रिकेट लिगअन्तर्गत युएईसँग खेलेयता राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरेका सागरले यसपटक मौका पाएका थिए।
उनले उक्त मौकालाई बुधबार मलेसियामा सदुपयोग गर्दै उत्कृष्ट अर्धसतक प्रहार गरे।
मलेसियाको क्यालालाम्पुरबाट केही समयम अगाडि मलेसियन प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट खेलाडीसमेत भएका सागरले १० खेलबाट २ सतक र एक अर्धसतकसहित ४५२ रन जोडेका थिए।
उनले श्रीलंकामा भएको अभ्यास खेलमा पनि आफ्नो खेल कौशल देखाइसकेका थिए। उनले त्यहाँ दोस्रो अभ्यास खेलमा ब्लुमफिल्डमाथि ९२ रन बनाएका थिए।
बुधबार बिहान मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सस्तैमा महत्वपूर्ण विकेट गुमाएपछि टिमको पारी सम्हाल्ने जिम्मेवारीसहित मैदानमा आएका सागरले राम्रो खेले।
८४ बल खेल्दै ८३ रन बनाएका सागरले २ छक्का र ६ चौका प्रहार गर्दै टिमलाई सम्मानजनक योगफलमा पुर्याए।
चौथो क्रममा ब्याटिङ गर्न आएका सागरले ८० रनमा ४ विकेट गुमाइसकेको अवस्थाबाट नेपाललाई उकासेका थिए।
सागर ब्याटिङसँगै राम्रो बलिङसमेत गर्न सक्छन्।