आइसिसी क्रिकेट विश्वकप २०१९ अघि तीन टिम सहजै सेमिफाइनलमा पुग्ने क्रिकेट पण्डितको विश्लेषण थियो।
धेरैले आयोजक इंग्ल्यान्ड, अस्ट्रेलिया र भारत सेमिफाइनलमा पुग्ने विश्लेषण गरेका थिए।
सेमिफाइनलमा पुग्ने चौथो टिममा भने धेरैको फरक मत थियो।
यसपटक दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने चौथो टिम हुन सक्ने केहीले विश्लेषण गरेका थिए।
इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतले क्रिकेट पण्डितहरूको अपेक्षाअनुसार प्रदर्शन गरिरहेका छन्। यद्यपी तीन वटै टिमले सेमिफाइनलमा स्थान पक्का गरिरसकेका भने छैनन्।
दक्षिण अफ्रिकाले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन। दक्षिण अफ्रिकाले ७ खेल खेल्दा ५ खेलमा हार बेहोर्यो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराएको थियो। वेस्ट इन्डिजविरूद्धको खेल वर्षाले रद्द गरिदियो। पछिल्लो खेलमा न्युजिल्यान्डसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो।
सन् २०१७ को च्याम्पियन्स ट्रफीपछि दक्षिण अफ्रिकाको प्रदर्शन राम्रो छैन।
दुई वर्षमा खेलेका एकदिवसीय खेलमध्ये दक्षिण अफ्रिकाले ६ पटकमात्र ३ सय रन कटाएको थियो।
यो प्रदर्शन जारी विश्वकपमा भाग लिएका बंगलादेश र अफगानिस्तानभन्दा राम्रो हो भने अन्य ७ टिमभन्दा खराब हो।
२ वर्षमा इंग्ल्यान्डले १९ पटक ३ सय रन कटाउँदा भारतले १३ पटक ३ सयभन्दा बढी रन बनाएको थियो।
यस्तै अस्ट्रेलियाले ११, पाकिस्तानले १०, वेस्ट इन्डिजले ९, न्युजिल्यान्डले ८ र श्रीलंकाले ७ पटक एकदिवसीय खेलमा ३ सय रन कटाएका थिए।
लगातार खराब प्रदर्शन गरेपछि दक्षिण अफ्रिका सन् २००३ पछि आइसिसीको प्रतियोगिताबाट समूह चरणबाटै बाहिरिन पुगेको छ।
सामान्य हिसाबले आधुनिक क्रिकेटमा ३ सय रन कटाउनलाई गाह्रो पर्नु नै दक्षिण अफ्रिकाको कमजोरी हो।
लामो इनिङ खेल्न नसक्ने ब्याट्सम्यान नहुँदा दक्षिण अफ्रिकाको स्कोरले गति लिन सकिरहेको थिएन।
१८ महिनाअघि भारतले दक्षिण अफ्रिका भ्रमण गरेको थियो।
भ्रमणका दौरान खेलिएका ६ खेलको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाले कमजोर प्रदर्शन गरेको थियो। सिरिजमा भारतीय कप्तान विराट कोहलीले ५५८ रन र शिखर धवनले ३२३ रन प्रहार गरेका थिए।
दक्षिण अफ्रिकाका लागि हसिम अमलाले सबैभन्दा बढी १५४ रन प्रहार गरेका थिए।
सिरिज भारतले ५–१ ले जितेको थियो। त्यसपछि पनि दक्षिण अफ्रिकाको प्रदर्शनमा सुधार आएन। लगातार खराब प्रदर्शन गर्दा दक्षिण अफ्रिका विश्वकपको तयारीप्रति गम्भीर नभएको आरोप लाग्दै आएको छ।
दक्षिण अफ्रिकाका ओपनर अमलाले २०१८ मा ११ एकदिवसीय खेल खेल्दा ३१५ रन बनाएका थिए।
उनी दक्षिण अफ्रिकाका लागि वर्षमा बढी रन बनाउने खेलाडीको छैठौं स्थानमा थिए।
शीर्ष स्थानका कप्तान फाप डु प्लेसिसले वर्षमा ८ खेल खेलेर ४३४ रन बनाएका थिए।
जबकी सन् २०१८ मा भारतका कप्तान विराट कोहलीले १४ खेलमा १२०२ रन बनाएका थिए भने रोहित शर्माले १९ खेलमा १०३० रन जोडेका थिए।
दक्षिण अफ्रिकाको टिममा एबी डी भिलियर्सले सन्यास लिनुको पनि प्रभाव परेको देखिन्छ। गत वर्ष अचानक सन्यास घोषणा गरेका भिलियर्सजस्ता खेलाडी दक्षिण अफ्रिकाको टिममा खड्कियो। दक्षिण अफ्रिकाले उनको स्थान लिन सक्ने खेलाडी तयार पार्न सकेन।
आइपिएलमा फर्ममा रहेका विकेटकिपर ब्याट्सम्यान क्वान्टन डे कक विश्वकपमा भने चल्न सकेनन्। जसका कारण दक्षिण अफ्रिकाको ओपनिङ सधैं खराब देखियो।
‘दक्षिण अफ्रिकाले निर्धक्क क्रिकेट खेनु सक्नु पर्थ्यो। तर ब्याट्सम्यानहरू पुरानै शैलीमा खेलेका देखिन्थे। न्युजिल्यान्ड, इंग्ल्यान्ड वा भारतबाट दक्षिण अफ्रिकाले सिक्नुपर्छ। उनीहरूले उत्कृष्ट खेलिरहेका छन्। राम्रो टिम बनाइरहेका छन्। दक्षिण अफ्रिकाको टिममा यो विषय खड्किएको छ,’ दक्षिण अफ्रिकाका पूर्व कप्तान एन्ड्रियु हड्सनले भनेका छन्।
ब्याटिङको तुलनामा दक्षिण अफ्रिकाको बलिङमा भने राम्रो छ।
डेल स्टेन, कसिगो रबाडा र लुङ्गी एनगिडी वर्तमान पुस्ताका उत्कृष्ट बलर हुन्।
यद्यपी तीनै बलर विश्वकपको सेरोफेरोमा घाइते भए।
रबाडा आइपिएलका दौरान घाइते भएर स्वदेश फर्किका थिए।
लुङ्गीले विश्वकपका सुरूआती खेल गुमाएका थिए भने स्टेनले विश्वकपका कुनै खेल खेल्न पाएनन्।
स्पिरन इमरान ताहिर पनि विश्वका उत्कृष्ट बलरमध्ये एक हुन्। मुख्य बलर घाइते हुनु र चलेका बलरको तुलनामा ब्याट्सम्यानले खराब खेल्नु दक्षिण अफ्रिकाको हारको अर्को कारण हो। कतिपयले दक्षिण अफ्रिकाको अहिलेको ‘ब्याटिङ लाइनअप’लाई इतिहासको खराब भन्न भ्याइसकेका छन्।
यता कप्तान प्लेसिसले मुख्य बलर घाइते हुनुको कारण आइपिएललाई दिएका छन्।
स्टेन रोयल च्यालेन्जर्स बैंग्लोर तथा रबाडा दिल्ली क्यापिटल्सका लागि खेल्ने क्रममा घाइते भएका थिए। लुङ्गीले पनि घाइते भएकै कारण आइपिएल गुमाएका थिए। प्लेसिसले सार्वजनिक रूपमा विश्वकप तयारीका लागि मुख्य खेलाडीलाई आइपिएल खेल्नबाट रोक्न खोजेको तथा नसकेको बताएका छन्।
अस्ट्रेलियन र इंग्लिस खेलाडी आइपिएलबाट चाँडै आफ्नो टिममा फर्किएका थिए। लगातार राम्रो ब्याटिङ गरिरहेका अस्ट्रेलियाका ओपनर डेभिड वार्नर बीचैमा आइपिएल छाड्दा सनराइजर्स हैदरावादलाई अप्ठ्यारो परेको थियो। तर दक्षिण अफ्रिकाका क्रिकेटर भने आइपिएको अन्त्यसम्म भारतमै बसेका थिए। जसमा कप्तान प्लेसिससहित बलर ताहिर पनि थिए। जसले दक्षिण अफ्रिकाका खेलाडी विश्वकपका लागि ‘फ्रेस’ हुन सकेका थिएनन्।
क्रिकेट साउथ अफ्रिकाले सम्झौता रहेका आफ्ना खेलाडीलाई आइपिएलबाट चाँडो फर्काउन नसकेको भन्दै प्रश्न उठिरहेका छन्। दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर ज्याक कालिसले क्रिकेट बोर्डको रबैयाप्रति प्रश्न उठाइरहेका छन्। उनले बोर्डले निकट भविष्यमा राम्रो योजना बनाउन खेलाडीसँग बसेर छलफल गर्नुपर्ने बताएका छन्। (एजेन्सीहरूको सहयोगमा)