नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र स्कटल्यान्डविरूद्धको सिरिजमा विजयी सुरूवात गरेको छ।
बिहीबार माथिल्लो मुलपानी मैदानमा नेपाल ए टोलीले स्कटल्यान्डमाथि ४५ रन जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २७७ रन बनायो।
नेपालका लागि देव खनालले ६५ बलमा ६ चौका र १ छक्काको मद्दतमा ६३ रन जोडे। ओपनरद्वय मयन यादवले ४५ रन र अनिल साहले १८ रन बनाए।
सन्दीप जोराले ३४ रन जोड्दा पवन सर्राफले १८ बलमा ३१ रन जोड्न सके। रशिद खानले १० बलमा नटआउट १४ रन र दीपक डुम्रेले ७ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट २३ रन जोडेका थिए।
बलिङमा स्कटल्यान्डका ब्राड्ली करी र सफयन शरीफले २-२ विकेट लिए।
२७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि ओपनरद्वय फिनले म्याक्रिथले ५२ रन र मार्क वाटले ३७ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ८७ रनको साझेदारी भयो। त्यसपछि ज्याक जर्भिसले ४५ रन बनाउन सके।
बलिङमा नेपालका रशिद खानले ३ विकेट लिए। शाहक आलम, युवराज खत्री र बसिर अहमदले २-२ विकेट लिए।
नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको आइसिसी विश्वकप लिग-२ को सिरिजअघि नेपाल ए टोलीसँग यो अभ्यास सिरिज भएको हो।