आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एकदिसीय सिरिज खेल्दैछ।
नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँस पौने तीन बजे खेल्नेछ। नेदरल्यान्डको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहीबार खेल्नेछ।
यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग-२ को सात वटा सिरिज खेलिसक्दा नेपाल २८ खेलबाट २४ अंक जोड्दै पाँचौ स्थानमा छ।
अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्यान्डको ३८ अंक रहेको छ।
नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा रहदा समान खेलबाट ३१ अंक बटुलेको ओमान चौथो स्थानमा छ।
नेपाल पाँचौ रहदा छैटौं स्थानको क्यानडाको पनि समान २४ अंक नै छ। नामिबिया २२ अंकसहित सातौं र युएई १४ अंक जोडेर पुछारमा छ।
लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ।
यो सिरिजपछि नेपालले लिग-२ साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानडासँग खेल्नेछ।