आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरूद्ध नेपालले ब्याटिङ संघर्ष गरेको छ। मंगलबारदेखि नेरल्यान्ड्समा सुरु भएको नेपाललाई नामिबियाले ४६.५ ओभरमा १५७ रनमा अलआउट गरेको हो।
टस जितेको नामिबियाले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३१ रन र दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए।
उनीहरुबीच चौथो विकेटका लागि ५० रनको साझेदारी भयो।
नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरमा २ रनमा आउट भए भने इशान पाण्डेले ३१ बलमा ८ रनमा मात्र जोड्न सके।
दुवैलाई जेजे स्मिटले आउट गरेका थिए। आसिफ शेखले ४१ बलमा १६ रन जोडेका थिए।
आरिफ शेख शून्यमा आउट हुँदा गुल्सन झाले २० रन बनाए। सोमपाल कामीले १५ रन र करण केसीले १८ रन बनाए।
बलिङमा नामिबियाका जेजे स्मिटले ६ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दा २७ रन मात्र दिए।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने।
नेदरल्यान्डको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहीबार खेल्नेछ।
यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग-२ को सात वटा सिरिज खेलिसक्दा नेपाल २८ खेलबाट २४ अंक जोड्दै पाँचौ स्थानमा छ।
अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्यान्डको ३८ अंक रहेको छ।
नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा रहदा समान खेलबाट ३१ अंक बटुलेको ओमान चौथो स्थानमा छ।
नेपाल पाँचौ रहदा छैटौं स्थानको क्यानडाको पनि समान २४ अंक नै छ। नामिबिया २२ अंकसहित सातौं र युएई १४ अंक जोडेर पुछारमा छ।
लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ।
यो सिरिजपछि नेपालले लिग-२ साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानडासँग खेल्नेछ।