अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेभिड वार्नरले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको (ड्रिंक एण्ड ड्राइभ) आरोपमा आफ्नो गल्ती स्वीकार गरेका छन्। गत अप्रिल महिनामा सिड्नीमा गरिएको आकस्मिक जाँचका क्रममा उनी पक्राउ परेका थिए।
वार्नरका वकिल बबी हिलले गत मे महिनाको अदालती सुनुवाइमै क्रिकेटर वार्नरले आफ्नो गल्ती महसुस गरिसकेको र आफ्नो व्यवहार ‘मूर्खतापूर्ण’ एवं ‘लापरबाहीपूर्ण’ भएको स्वीकारेको बताएका थिए। त्यसैले वार्नरले अदालतमा गल्ती स्वीकार गर्ने अपेक्षा पहिले नै गरिएको थियो।
सुनुवाइका क्रममा वकिल हिलले बताएअनुसार, 'इस्टर सन्डे' का दिन वार्नरले एक साथीको कोठामा तीन गिलास 'वाइन' पिएका थिए र त्यसपछि उनी गाडी लिएर निस्किएका थिए।
यस मुद्दामा आगामी अगस्ट १८ तारिखमा सजाय सुनाइनेछ। वार्नरलाई कम्तीमा ६ महिना सवारी चलाउन प्रतिबन्ध लाग्न सक्छ। साथै उनलाई २,२०० अष्ट्रेलियन डलर जरिवाना र ९ महिनासम्मको जेल सजाय समेत हुन सक्ने सम्भावना छ।
सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नर हाल पाकिस्तान सुपर लिगको टोली 'कराँची किंग्स' र अष्ट्रेलियाको 'सिड्नी थन्डर'का कप्तान हुन्।
क्रिकेट न्यु साउथ वेल्सका प्रमुख कार्यकारी ली जर्मनले यस घटनालाई ‘चिन्ताजनक’ भन्दै संस्थाले यसलाई निकै गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले भने, ‘हामी सुरक्षित ड्राइभिङका पक्षधर हौँ, मापसे गरेर गाडी चलाउने कुराको कडा विरोध गर्छौँ।’
वकिल हिलले अदालतमा वार्नरले आफूबाट गल्ती भएको कुरा राम्ररी बुझेको बताए। उनले भने, ‘वार्नरले ट्याक्सी (उबर) बोलाउनुको साटो आफैँ गाडी चलाउने जुन निर्णय गरे, त्यो एक लापरबाही र मूर्खतापूर्ण निर्णय थियो भन्ने कुरा उनले स्वीकार गरेका छन्।’
उनले थप प्रस्ट पार्दै भने, ‘इस्टर जस्तो पर्वको दिनमा वाइन पिउनु आफैँमा अपराध होइन, कतिपयले त यसलाई उपयुक्त नै मान्छन्। तर, सुरक्षित विकल्प (ट्याक्सी) हुँदाहुँदै आफैँले गाडी चलाउने गलत निर्णय लिनु चाहिँ उनको अपराध हो।’