आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ गर्न लागेको हो।
नेपाल, नेदरल्यान्ड्स र नामिबियासँगको यो सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपालमाथि नामिबियाले ८ विकेटको जित निकालेको छ।
नेदरल्यान्ड्सविरूद्धको बिहीबारको खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। नन्दन यादवको स्थानमा ललित राजवंशीले खेल्दैछन्।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी।
नेदरल्यान्डको उत्रेथमा जारी सिरिजमा नेपालले तेस्रो खेल आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग-२ को सात वटा सिरिज खेलिसक्दा नेपाल २९ खेलबाट २४ अंक जोड्दै पाँचौ स्थानमा छ।
अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्यान्डको ३८ अंक रहेको छ।
नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा रहदा समान खेलबाट ३१ अंक बटुलेको ओमान चौथो स्थानमा छ।
नेपाल पाँचौ स्थानमा रहदा छैटौं स्थानको नामिबियाको पनि समान २४ अंक नै छ। क्यानडा पनि २४ अंकसहित सातौं र युएई १४ अंक जोडेर पुछारमा छ।
लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ।
यो सिरिजपछि नेपालले लिग-२ साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानडासँग खेल्नेछ।