आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्सविरूद्धको खेलमा पनि नेपालले खराब ब्याटिङ गरेको छ।
बिहीबार घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै अलआउट भएको थियो।
नामिबियासँगको पहिलो खेलमा नेपाल १५७ रनमै अलआउट भएको थियो।
खराब ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ चौका प्रहार गरे।
त्यसअघि ओपनर कुशल भुर्तेल ९ र आशिफ शेख १४ रनमा आउट भए।
इशान पाण्डे ३ रन र कप्तान रोहित पौडेल ४ रनमा आउट भएका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरी पनि ४२ बलमा २१ रन जोडेर आउट भए।
गुल्सन झा ४२ बलमा २९ रन जोडेर आउट भए। सोमपाल कामी १० रन र करण केसीले नटआउट १३ रन बनाए। सन्दीप लामिछाने र ललित राजवंशी शून्यमा आउट भए।
बलिङमा नेदरल्यान्ड्सका एलेक्स रोए र भान मर्वीले ३-३ विकेट लिए। भान वीकको नाममा २ विकेट रह्यो।
नेपाल, नेदरल्यान्ड्स र नामिबियासँगको यो सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपालमाथि नामिबियाले ८ विकेटको जित निकालेको छ।
नेदरल्यान्ड्सविरूद्धको बिहीबारको खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। नन्दन यादवको स्थानमा ललित राजवंशीले खेले।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी।
नेदरल्यान्डको उत्रेथमा जारी सिरिजमा नेपालले तेस्रो खेल आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग-२ को सात वटा सिरिज खेलिसक्दा नेपाल २९ खेलबाट २४ अंक जोड्दै पाँचौ स्थानमा छ।
अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्यान्डको ३८ अंक रहेको छ।
नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा रहदा समान खेलबाट ३१ अंक बटुलेको ओमान चौथो स्थानमा छ।
नेपाल पाँचौ स्थानमा रहदा छैटौं स्थानको नामिबियाको पनि समान २४ अंक नै छ। क्यानडा पनि २४ अंकसहित सातौं र युएई १४ अंक जोडेर पुछारमा छ।
लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ।
यो सिरिजपछि नेपालले लिग-२ साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानडासँग खेल्नेछ।