आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
बिहीबार नेपालमाथि घरेलु टोली नेदरल्यान्ड्सले ६ विकेटको जित निकालेको हो। यसअघि पहिलो खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भएको थियो।
घरेलु मैदानमा यसअघि खेलिएका दुई वटा सिरिजमा राम्रो प्रदर्शन गरे पनि नेपालले अवे सिरिजमा भने खराब प्रदर्शन रोक्न सकेको छैन। नेपालले आफ्ना ३० खेलमध्ये १७ खेलमा पराजय भोगिसकेको छ। जसमा अधिकांस हार अवे सिरिजमा भएको छ।
बिहीबार नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेदरल्यान्ड्सका स्कट इडवार्ड र नोह क्रोइसको अविजित साझेदारी जितको आधार बन्यो। इडवार्डले ८९ बलमा ६१ रन र क्रोइसले ५९ बलमा ३४ रन बनाए। उनीहरुबीच नटआउट ८५ रनको साझेदारी भयो।
नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओडाउनलाई ९ रनमा सोमपाल कामी र डि लाङलाई दीपेन्द्रसिंह ऐरीले २१ रनमा आउट गरे। त्यसपछि बास डि लिडे १ रनमा ललित राजवंशीबाट बोल्ड हुँदा जाक लिओनले रनआउट हुनअघि २१ रन बनाए।
त्यसअघि नेपालले खराब ब्याटिङ गरेको थियो।
बिहीबार घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै अलआउट भएको थियो।
नामिबियासँगको पहिलो खेलमा नेपाल १५७ रनमै अलआउट भएको थियो।
खराब ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ चौका प्रहार गरे।
त्यसअघि ओपनर कुशल भुर्तेल ९ र आशिफ शेख १४ रनमा आउट भए।
इशान पाण्डे ३ रन र कप्तान रोहित पौडेल ४ रनमा आउट भएका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरी पनि ४२ बलमा २१ रन जोडेर आउट भए।
गुल्सन झा ४२ बलमा २९ रन जोडेर आउट भए। सोमपाल कामी १० रन र करण केसीले नटआउट १३ रन बनाए। सन्दीप लामिछाने र ललित राजवंशी शून्यमा आउट भए।
बलिङमा नेदरल्यान्ड्सका एलेक्स रोए र भान मर्वीले ३-३ विकेट लिए। भान वीकको नाममा २ विकेट रह्यो।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी।
नेदरल्यान्डको उत्रेथमा जारी सिरिजमा नेपालले आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग-२ को आठौ सिरिज खेलिरहेको नेपाल ३० खेलबाट २४ अंक जोड्दै पाँचौ स्थानमा छ।
अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्यान्डको ३८ अंक रहेको छ।
नेदरल्यान्ड्स २९ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा रहदा समान खेलबाट ३१ अंक बटुलेको ओमान चौथो स्थानमा छ।
नेपाल पाँचौ स्थानमा रहदा छैटौं स्थानको नामिबियाको पनि समान २४ अंक नै छ। क्यानडा पनि २४ अंकसहित सातौं र युएई १४ अंक जोडेर पुछारमा छ।
लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ।
यो सिरिजपछि नेपालले लिग-२ साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानडासँग खेल्नेछ।