आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजका दौरान नेपालका तीव्र गतिका बलर नन्दन यादव घाइते भएका छन्।
खेलका क्रममा ह्यामस्ट्रिङ कारण उनी सिरिजका बाँकी खेलहरूबाट बाहिरिएका हुन्।
नेदरल्यान्ड्सको उत्रेथमा जारी यस सिरिजमा नेपालको प्रदर्शन हालसम्म सन्तोषजनक हुन सकेको छैन।
नेपालले आफ्ना सुरुवाती दुई खेलमा घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग पराजय भोगिसकेको छ। मुख्य बलरको चोटले गर्दा अबका खेलहरूमा नेपाललाई थप चुनौती थपिएको छ।
तालिका अनुसार नेपालले आगामी सोमबार नामिबियासँग तेस्रो खेल खेल्नेछ भने त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।
लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई बाँकी खेलहरू जित्नैपर्ने दबाब छ।
लिग-२ को आठौँ सिरिज खेलिरहेको नेपाल अहिले ३० खेलबाट २४ अंक जोड्दै पाँचौँ स्थानमा छ।
अंक तालिकामा ४३ अंकसहित अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ३४ अंकसहित तेस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा रहेका छन्।
नेपालसँगै समान २४ अंक भए पनि रनरेटका आधारमा नामिबिया छैटौँ र क्यानडा सातौँ स्थानमा रहेका छन्। युएई १४ अंकका साथ पुछारमा छ।
यो सिरिज सकिएपछि नेपालले लिग-२ को अन्तिम साइकल अन्तर्गत अक्टोबरमा घरेलु मैदानमा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्ने तालिका छ।