भारतीय क्रिकेटका मुख्य बलर जसप्रित बुमराह चोटका कारण श्रीलंकाविरुद्धको आगामी दुई टेस्ट खेलको सिरिजबाट बाहिरिएपछि उनको स्थानमा जम्मु-कश्मीरका २९ वर्षीय तीव्र गतिका बलर अकिब नबीलाई पहिलो पटक भारतीय टोलीमा समावेश गरिएको छ।
अकिब नबी अहिले निकै उत्कृष्ट लयमा छन्। उनले पछिल्ला दुई 'रणजी ट्रफी' सिजनमा कुल १०४ विकेट लिएका छन्। खासगरी २०२५-२६ को सिजनमा उनले ६० विकेट लिँदै आफ्नो टोली जम्मु र कश्मीरलाई पहिलो पटक रणजी ट्रफीको उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए। हालै श्रील|sf भ्रमण गरेको 'इन्डिया ए' टोलीमा पनि उनी सहभागी थिए, जहाँ उनले दुई खेलमा ६ विकेट लिएका थिए।
यदि अकिबले श्रीलंकाविरुद्ध मैदानमा उत्रिने मौका पाए भने, उनी जम्मु र कश्मीरबाट भारतका लागि टेस्ट क्रिकेट खेल्ने पहिलो खेलाडी बन्नेछन्।
गत महिना इङ्गल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा बुमराहको देब्रे घुँडामा चोट लागेको थियो। सोही चोट निको नभएका कारण उनी टोलीसँग श्रीलंका जान सकेनन्। सोमबार बीसीसीआईले उनी टोलीमा नरहेको आधिकारिक जानकारी दिएको हो।
बुमराहको अनुपस्थितिमा अब भारतको तीव्र गतिको बलिङ आक्रमण मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, गुरनूर ब्रार र अकिब नबीले सम्हाल्नेछन्। श्रीलंका विरुद्धको पहिलो टेस्ट अगस्ट १५ बाट 'गाले' मा सुरु हुनेछ। त्यसअघि अगस्ट ७ बाट कोलम्बोमा तीन दिने अभ्यास खेल हुनेछ।
श्रीलंका भ्रमणका लागि भारतीय टेस्ट टोली:
• शुभमन गिल (कप्तान)
• केएल राहुल (उपकप्तान)
• यशस्वी जैसवाल
• ऋषभ पन्त (विकेटकिपर)
• बी साई सुदर्शन (फिटनेस जाँचपछि मात्र निश्चित हुने)
• ध्रुव जुरेल (विकेटकिपर)
• रविन्द्र जडेजा
• कुलदीप यादव
• मानव सुथार
• मोहम्मद सिराज
• प्रसिद्ध कृष्णा
• गुरनूर ब्रार
• अकिब नबी
• देवदत्त पडिक्कल
• सारांश जैन