अमेरिकी क्रिकेटर बोदुगुम अखिलेस रेड्डीलाई म्याच फिक्सिङसँग सम्बन्धित नियम उल्लंघन गरेको आरोपमा सबै प्रकारका क्रिकेटबाट ८ वर्षका लागि प्रतिबन्ध लगाइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अनुशासन समितिले उनलाई तीनवटा गम्भीर मुद्दामा दोषी ठहर गरेको हो।
यो प्रतिबन्ध नोभेम्बर २१, २०२५ देखि लागू हुने गरी तोकिएको छ, जसको अर्थ उनी सन् २०३३ को नोभेम्बरसम्म क्रिकेट मैदानमा फर्कन पाउने छैनन्।
यो घटना सन् २०२५ को 'अबु धाबी टी-१०' लिगसँग सम्बन्धित छ। २६ वर्षीय अफ-स्पिनर रेड्डीले उक्त प्रतियोगितामा 'एस्पिन स्टालियन्स' बाट दुईवटा खेल खेलेका थिए। अनुसन्धानका क्रममा उनीमाथि विभिन्न आरोप पुष्टि भएका छन्।
खेल मिलेमतोको प्रयास गरेको उनीमाथि पहिलो आरोप छ। उनले खेलको नतिजा वा खेलको कुनै पनि पक्षलाई अनुचित तरिकाले प्रभाव पार्न (म्याच फिक्सिङ) खोजेका थिए।
उनले आफू मात्र नभई अरू खेलाडीहरूलाई पनि नियम तोड्न र मिलेमतो गर्न प्रोत्साहन वा दबाब दिएको अर्को आरोप रेड्डीलाई लगाइएको छ।
अनुसन्धान सुरु भएपछि उनले आफ्नो मोबाइल फोनबाट म्यासेज र डाटाहरू डिलिट गरेर आईसीसीको छानबिनमा बाधा पुर्याएका थिए। यो आरोपमा पनि उनी प्रतिबन्धमा परेका हुन्।
अखिलेस रेड्डी अमेरिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडी हुन्। उनले सन् २०२५ को अप्रिलमा अमेरिकाको राष्ट्रिय टोलीबाट ४ वटा टी-२० खेल खेलेका थिए। उनी यस वर्ष भ्रष्टाचारको मुद्दामा फस्ने अमेरिकाका दोस्रो खेलाडी हुन्। यसअघि अर्का ब्याटर आरोन जोन्स पनि अनुशासनको कारबाहीमा परेका थिए।