नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।
नेपालले तेस्रो खेलमा आइतबार मलेसियामा साउदी अरेबियामाथि ५ विकेटको जित निकाल्यो। यसअघि नेपालले पहिलो खेलमा बहराइन र दोस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको थियो।
साउदी अरेबियाले दिएक १९१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४१ ओभरमा पूरा गर्यो। नेपालका लागि गुल्सन झाले नटआउट ४४ रन बनाए। उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। रोहितकुमार पौडेलले नटआउट २४ रन बनाए। उनले ३७ बल खेलेर २ चौका प्रहार गर्न सके।
त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १५ रन र आशिफ शेख २० रनमा आउट भए। देव खनालले ५८ बलमा ३९ रन तथा इशान पाण्डेले ५९ बलमा ४० रन बनाए।
दीपेन्द्रसिंह ऐरी भने ५ रनमै जोडेर आउट भएका थिए।
त्यसअघि नेपालले साउदी अरेबियालाई १९० रनमा अलआउट गर्यो।
नेपालका कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको साउदी चार बल खेल्न बाँकी छदा अलआउट भयो।
साउदीका लागि ओपनर अब्दुल वाहीदले ७७ रन बनाए। ललित राजवंशीको एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।
मोहमद अटिफले ३० रन र हिसाम शेखले २८ रन बनाए।
नेपालका लागि सन्दीपले ३ विकेट लिँदा १० ओभरमा २ मेडन राखे भने १९ रन मात्र दिए। दीपेन्द्रले ३ विकेट लिने क्रममा ९.२ ओभरमा ४३ रन खर्चिएका थिए।
ललित राजवंशीले पनि बलिलो बलिङ गर्ने क्रममा २ विकेट लिए भने २ मेडनमा २६ रन खर्चिए। शेर मल्ल र गुल्सन झाको नाममा १-१ विकेट रह्यो।
अब नेपालले समूहको अन्तिम खेलमा भदौ अ२३ मा हङकङसँग खेल्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ।