एसिसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई १९० रनमा अलआउट गरेको छ।
नेपालका कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको साउदी चार बल खेल्न बाँकी छदा अलआउट भयो।
साउदीका लागि ओपनर अब्दुल वाहीदले ७७ रन बनाए। ललित राजवंशीको एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।
मोहमद अटिफले ३० रन र हिसाम शेखले २८ रन बनाए।
नेपालका लागि सन्दीपले ३ विकेट लिँदा १० ओभरमा २ मेडन राखे भने १९ रन मात्र दिए। दीपेन्द्रले ३ विकेट लिने क्रममा ९.२ ओभरमा ४३ रन खर्चिएका थिए।
ललित राजवंशीले पनि बलिलो बलिङ गर्ने क्रममा २ विकेट लिए भने २ मेडनमा २६ रन खर्चिए। शेर मल्ल र गुल्सन झाको नाममा १-१ विकेट रह्यो।
यसअघि नेपालले समूहमा बहराइन र मलेसियालाई हराएको थियो। नेपालले अन्तिम खेलमा हङकङसँग मंगलबार खेल्नेछ।