अस्ट्रेलियामा रहेको नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय खेलमा लगातार दोस्रो खेलमा पराजय भोगेको छ।
नेपालमाथि शुक्रबार दक्षिण अस्ट्रेलियाले १३८ रनको फराकिलो अन्तरले जित निकाल्यो।
अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल १२१ रनमै अलआउट भयो।
नेपालका लागि रशिद खानले ३७ रन र दीपक डुम्रेले १८ रन बनाए भने अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा अस्ट्रेलियाका एस जोनसन ३ र सिजे थमसनले २ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २५९ रन बनायो।
उसका लागि हूगेनबोइजेमले १११ रन बनाए भने ब्याग्सले ४२ रनको योगदान दिए।
बलिङमा नेपालका रशिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बमले १-१ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा तास्मानियासँग हरेको थियो।
अब नेपालले अन्तिम एकदिवसीय खेलमा आइतबार न्युजिल्यान्डको ए टोलीसँग खेल्नेछ।