मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ।
यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरू हुँदैछ।
यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ। जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ। नेपाल ताजा स्थितिमा छ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरूद्ध ७ विकेट, आयोजक मलेसियाविरूद्ध ६ विकेट तथा साउदी अरेबियाविरूद्ध ५ विकेटको जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ।
उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ।
हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरूद्ध नेपालको भेट चार पटक मात्र भएको छ। जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ। यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ।
नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए। उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो।