नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई गण्डकी प्रदेशले दोस्रो खेलमा पनि हराएको छ।
गण्डकीले बुधबार पोखरा क्रिकेट रंगशालामा भएको खेलमा भुटानलाई ६४ रनले हराएको हो।
पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९६ रनको योगफल बनाएको थियो। गण्डकीका लागि सिब्रिन श्रेष्ठले ४५ रन बनाए। उनले २४ बलमा ४५ रन जोडे। करण पंगेनीले २७ बलमा ४५ रनको योगदान दिए।
सन्दीप केसीले आक्रामक ब्याटिङ गर्दै ९ बलमा अविजित ३० रन बनाए। रोहित चन्दले १६ बलमा २० रन जोडे।
१९७ रनको लक्ष्य पछ्याएको भुटान १७.४ ओभरमा १३२ रनमै अलआउट भयो। भुटानका लागि सोनाम चोपेलले २१ बलमा ४३ रन बनाए। टासी दोर्जीले ११ बलमा ३१ तथा तेन्जिन राब्गेले २० बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
गण्डकीका बलर बिपिन खत्रीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। दीपक डुम्रेले ३ तथा सिब्रिन श्रेष्ठले २ विकेट लिए।
यससँगै गण्डकीले भुटानविरुद्धको दुई खेलको सिरिज दुवै खेल जितेको छ। यसअघि भएको पहिलो खेलमा गण्डकीले भुटानलाई ८ विकेटले पराजित गरेको थियो।
नेपाल भ्रमणमा रहेको भुटानले अब क्यान–११ सँग दुई अभ्यास खेल खेल्नेछ। भुटानले बिहीबार र शुक्रबार क्यान–११ विरुद्ध खेल्ने तालिका छ।