फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका चार जना फुटबलर कारबाहीमा परेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको छ। चारै जनालाई एन्फाले प्रशिक्षक योहान कालिनसँग छलफल गरेर हटाएको हो।
चारै जना 'नाइट क्लब'मा नियमविपरित गएको भन्दै एन्फाले टिमबाट हटाएको बुझिएको छ। उनीहरु शुक्रबार राति ठमेलका विभिन्न क्लबमा गएको एन्फा स्रोतको जानकारी दिएको छ। भुटान उड्नुअघि दिन उनीहरु राति २ बजेसम्म क्लबमा रहेको एन्फा स्रोतको भनाइ छ।
एन्फाका प्रवक्ता किरण राईले चार जना अनुशासनको कारबाहीमा परेको पुष्ट गरे पनि विषय खुलाउन चाहेनन्।
'चार जनालाई हामीले अनुशासनको कारबाही गरेका छौं। अब उनीहरु भुटान जाने छैनन्। उनीहरुको स्थानमा बैकल्पिक खेलाडीलाई पठाइनेछ,' राईले सेतोपाटीसँग भने।
एन्फाले भुटान प्रस्थान गर्ने टिमलाई शनिबार विदाई गरेको थियो। तर चार खेलाडी नै विदाईमा उपस्थित थिएनन्। चार खेलाडी विनाको नेपाली टिम अपरान्ह ३ बजे भुटान जाने कार्यक्रम छ।
गत वर्ष पनि विमल लगायतका खेलाडीहरु नाइट क्लबमा गएका थिए। तर त्यतिबेला एन्फाले स्पष्टिकरण मात्र सोधेको थियो।
नेपालले आगामी मंसिर ३ मा भुटानको राजधानी थिम्पुमा कुवेतविरुद्ध खेल्दैछ।
दशरथ रंगशाला समयमै बन्द नसक्दा नेपालले आफ्नो होम म्याच न्यूट्रल भेन्यूमा खेल्न लागेको हो।
छनोटमा नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ।
पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।
छनोटमा ताइपेईलाई हराउदा दुवै गोल अञ्जन विष्टले गरेका थिए।