अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ करोड २० रुपैयाँ (१ लाख अमेरिकी डलर) को राहत बढ्ने भएको छ। सोमबार बसेको एन्फा कार्यसमिति बैठकले कोरोना भाइरसबाट प्रभावित फुटबलकर्मीका लागि राहत दिने निर्णय गरेको हो।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट उपलब्ध हुने रकम मध्ये एन्फाले १ लाख डलर राहतका लागि प्रयोग गर्ने निर्णय गरेको हो।
यसअघि एन्फाले कोरोनाबाट प्रभावितलाई राहत दिनका लागि समिति गठन गरेको थियो। केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समन्वय समितिमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी सदस्य थिए। एन्फाका जिल्ला सदस्य, क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघलाई विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ। एन्फाले सामाजिक उत्तरदायित्व समिति हुँदाहुँदै अर्को समिति गठन गरेको थियो।
समितिले पेश गरेको प्रतिवेदनको आधारमा करिब एक लाख डलर बराबरको फिफामा राहत सहयोग माग गरी संघ अन्तर्गत ४८ जिल्ला फुटबल संघ, ४ समिति, १४ ए डिभिजनका क्लबहरु, १२ बी डिभिजनका क्लब, १४ सी डिभिजनका क्लब, एन्फामा आवद्ध रहेका सबै तहका एन्फाका प्रशिक्षक तथा कर्मचारी, शहिद स्मारक ए डिभिजन संचालन गर्ने रेफ्रि र रेफ्रि एसेशरलाई राहत दिनेछ। एन्फाले उल्लेखित मध्ये कसलाई कति राहत दिने भन्ने खुलाएको छैन।
यस्तै नेपाली राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका ३५-३५ जनालाई जनही १५ हजार रुपैयाँ खुराक खर्च प्रदान गर्ने पनि एन्फाले निर्णय गरेको छ।
एन्फाले आर्थिक २०७७।०७८ को बजेट ७० करोड बढी ल्याउने भएको छ।
'आर्थिक बर्ष २०७७।०७८ को बार्षिक बजेट ७० करोड ४१ लाख १९ हजार विनियोजन गरी पेश गर्नु भएकोमा उक्त बार्षिक बजेट पारित गरी संघको आगामी साधारण सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय छ,' एन्फा प्रवक्ता किरण राईको भनाइ छ।
एन्फाको नियमित साधारण सभा भदौ १५ गते गर्ने निर्णय भएको छ। त्यतिबेलासम्म पनि कोभिड–१९ नेभेल कोरोना भाइरसको संक्रमणले अवस्था असमान्य रहेमा विश्वव्यापी मान्यता प्राप्त तथा फिफा र एएफसीबाट समेत मान्यता प्राप्त अनलाइन भर्चुल माध्यमद्वारा गर्ने एन्फाले जनाएको छ।
यसअघि कोरोनाका कारण चैत १६ गतेका लागि तोकिएको एन्फाको साधारणसभा स्थगित भएको थियो।