कोपा इटालिया फुटबल प्रतियोगिताअन्तर्गत तनावपूर्ण खेलमा जित हात पार्दै इन्टर मिलान सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको डर्बी भिडन्तमा इन्टर मिलानले एसी मिलानलाई २-१ गोलले पराजित अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको ३१ मिनेटमा एसी मिलानले ज्लाटन इब्राहिमोभिचको गोलबाट अग्रता लिएको थियो।
पहिलो हाफमा १-० गोलले पछि परेको इन्टरका लागि ७१ मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल फर्काए।
अन्तिमसम्म बराबरीको अवस्थामा रहेको खेलको इन्जुरी टाइमको सातौं मिनेटमा इरिक्सनले गोल गर्दा इन्टरले जित हात पार्न सफल भयो।
त्यसअघि पहिलो हाफको अन्त्यतिर एसी मिलानका फरवार्ड इब्राहिमोभिच र इन्टर मिलानका फरवार्ड लुकाकु झगडामा उत्रिएका थिए।
एसी मिलानका डिफेन्डर एलेसियोले फल गरेको भन्दै लुकाकुले अपील गरेका थिए। तर इब्राहिमोभिचले कुनै फल नभएको संकेत गर्दै बल अघि बढाएका थिए। त्यसपछि लुकाकु निकै रिसाएका थिए।
सुरुमा भानाभन गरेका उनीहरूले त्यसपछि मुखामुख गर्दै टाउको ठोक्काएका थिए।
आक्रामक देखिएका लुकाकु इब्राहिमोभिचतर्फ गएका थिए। लुकाकुले केही शब्द बोल्दै टाउकोले हान्न खोजेको भिडिओमा देखिएको छ।
त्यसपछि रेफ्रीले दुवै खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए।
५८ मिनेटमा इब्राहिमोभिचले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले इन्टरका डिफेन्डर अलेक्जेन्डर कोलारोभलाई लगाएपछि रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए।
लुकाकु र इब्राहिमोभिच कुनै समय एकै टिमका सहकर्मी थिए। सन् २०१७-१८ को सिजनमा दुवैले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए।
गत वर्ष लुकाकुले स्विडिस स्ट्राइकर इब्राहिमोभिचको प्रशंसा गर्दै अन्तर्वार्ता दिएका थिए।