महिला राष्ट्रिय लिगमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब शतप्रतिशत जितका लागि च्याम्पियन बनेको छ।
शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोलले पराजित गरेपछि एपिएफले लिगका १२ वटै खेलमा जित निकालेको हो।
एपिएफ दुई खेलअघि नै च्याम्पियन बनेको थियो।
शुक्रबार एपिएफका लागि सरु लिम्बूले दुई गोल गरिन् भने एक गोल अनिता केसीले गरिन्।
अन्तिम खेलमा तीन गोल गरेसँगै एपिएफले १२ खेलमा ७७ गोल गर्न सफल भयो। उसले एक गोल मात्र खायो।
एपिएफले चौदण्डीगढी नगरपालिका उदयरपुरविरुद्ध सबैभन्दा ठूलो अन्तरको जित निकाल्ने क्रममा २२-० गोलले विजयी भएको थियो।
एपिएफले दोस्रो चरणमा नेपाल पुलिस क्लबविरुद्धको खेलमा एक गोल खाएको थियो। एपिएफविरुद्ध पुलिसकी अमृता जैशीले गोल गरेका थिइन्। सो खेलमा पुलिसमाथि एपिएफले २-१ को कठिन जित निकालेको थियो।
पुलिसविरुद्धको सो खेलमा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा घाइते भएकी थिइन्। त्यसपछि उनले लिगका अन्तिम दुई खेल गुमाइन्। उनले लिगका १० खेल खेल्दा ४३ गोल गरिन्।
लिगमा एपिएफले १२ खेलमा ३६ अंक जोड्यो। दोस्रो बनेको आर्मी २६ अंकमा सीमित बन्यो। नेपाल पुलिस क्लब १८ अंकका साथ तेस्रो बन्यो।
वालिङ नगरपालिका स्याङ्जा १७ अंकसहित चौथो, विराटनगर महानगरपालिका १६ अंकसहित पाँचौ र चन्द्रपुर नगरपालिका रौतहट ९ अंक जोडेर छैटौं भयो।
पुछारमा रहेको चौदण्डीगढी नगरपालिका उदयपुरले सबै खेल हार्दा अंकविहीन बन्यो।