भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ।
नेपालले तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। आइतबार भएको खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो।
त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिनेछ।
आजको खेलपछि बाँकी रहेका दुई खेलमा पनि नेपालले जित्नुपर्नेछ। आजको खेलपछि अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ।
प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्।
चार टोलीबीच डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अंक तालिकाको शीर्ष हुने टोलीले उपाधि जित्नेछ।
प्रतियोगितामा नेपालले सातौं पटक सहभागिता जनाउँदा एक पटक उपाधि जितेको छ। नेपालले सन् २०२२ मा उपाधि जित्न सफल भएको छ।
भारत र बंगलादेशले दुई दुई पटक उपाधि जित्न सफल भएका छन्।
नेपाली टोलीः झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर, दिक्षा रनपाल।