नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्ड प्रस्थान गरेकी छन्।
सिजन २०२५-२६ का लागि वेलिङटन फोनिक्समा आबद्ध भएसँगै क्लबको प्रिसिजन क्याम्पमा सहभागी हुन साम्बा सोमबार त्यसतर्फ गएकी हुन्।
फोनिक्स न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए-लिग वुमन खेल्ने गर्छ।
यो सिजनको लिग अक्टोबर ३१ देखि सुरू हुँदैछ। लिगमा १२ टोलीले खेल्दा ११ टोली अस्ट्रेलियाका छन्। अघिल्लो सिजन वेलिङटन लिगमा नवौं भएको थियो। उसले २३ खेलमा ७ खेल मात्र जितेको थियो।
न्युजिल्यान्ड प्रस्थान गरेपछि साम्बाले नयाँ यात्राको सुरूवात भनेकी छन्।
उनको भनाइ छ, ‘नयाँ यात्राको सुरुवात। सम्पूर्ण नेपाली समर्थकको आशीर्वाद र समर्थनको साथमा। वेलिंगटन फिनिक्सबाट खेल्न र त्यहाँ रहनुहुने नेपाली समर्थकलाई मैदानमा भेट्न उत्साहित छु।'
साम्बाले गत दुई सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन्। फ्रान्सको महिला फुटबल क्लब गुइनगाम्पबाट उनले दुई सिजन खेलेकी थिइन्। पछिल्लो सिजन भने क्लब रेलिगेसनमा परेको थियो।
उनी फ्रान्स युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी भएकी थिइन्।
साम्बाले यसअघि इसराइलको शीर्ष डिभिजनको क्लब हापोइल रा’नानामा आबद्ध भएर लिग खेलेकी थिइन्। तर युद्धका कारण उनी सिजनको बीचैमा फर्किएकी थिइन्। उनी युरोपियन लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।
त्यसअघि भारतको महिला लिगमा साम्बाले तहल्का पिटेकी थिइन्। पछिल्लो पटक उनले गोकुलम केरलाबाट भारतीय महिला लिग खेलेकी थिइन्। १० खेलमा २९ गोल गर्दै उनी लिगकै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आबद्ध गोकुलमले लिग नै जितेको थियो।
भारतमा तीन सिजन महिला लिग खेल्दा उनले तीनै सिजन उपाधि जितेकी थिइन्। उनले भारतीय लिगमा २४ खेलमा ६० गोल गर्दै कीर्तिमान समेत बनाएकी छिन्।
साम्बा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्येमा पर्छिन्। घरेलु लिगमा उनी एपिएफबाट खेल्छिन्।
साम्बा २०१४ मा नेपाली राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन् साम्बा। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। उनले डेब्यू खेलमै गोल गरेकी थिइन्।
त्यसयता साम्बाले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन्। साम्बाले राष्ट्रिय टोलीमा ६० खेलमा ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन्। साम्बा दुई महिना नेपाली महिला टोलीको कप्तान समेत बनेकी थिइन्।