अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय पुरुष टोलीको सपोर्टिङ स्टाफको अन्तिम रूपमा टुंगो लगाएको छ।
बालगोपाल साहुखला र चेत कुमार घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ। यस्तै मदनलाल श्रेष्ठलाई टोली व्यवस्थापकको जिम्मेवारी दिइएको छ।
राजीव कुमार यादवलाई सहायक टोली व्यवस्थापकको जिम्मेवारी दिइएको छ। पंकज शाहीलाई पर्ममेन्स एनालिस्टको भूमिका दिइएको छ।
नियुक्त भएका सबैलाई एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
नेपालले हङकङविरुद्ध खेल आगामी चैत १२ गते दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
यसअघि नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त भएका थिए। उनले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरिसकेका छन्।
नेपालले एक वर्षमा दोस्रो पटक हङकङसँग खेल्न लागेको हो। यसअघि हङकङमा गत जुनमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।
एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। यसअघि पाँच खेलमा लगातार पराजित भइसकेको नेपाल बाहिरिसकेको छ।
नेपालले अन्तिम खेलमा लाओससँग खेल्ने तय छ। चैत १७ गते हुने खेल होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा यो खेल कहाँ हुने टुंगो छैन।