क्रिस्टियानो रोनाल्डोकी आमाले पोर्चुगलका प्रशिक्षकमाथि छोरालाई धोका दिएको आरोप लगाएपछि प्रशिक्षक जर्ज जिससले प्रतिक्रिया दिएका छन्।
रोनाल्डोकी आमा डोलोरेस एभेइराले प्रशिक्षकले आफ्नो छोरालाई धोका दिएको टिप्पणी गरेकी थिइन्। त्यसको जवाफमा जिससले रोनाल्डोकी आमालाई आफूले सम्मान गर्ने तर उनका टिप्पणीबारे पनि जवाफ दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
सोमबार स्पोर्टिङको एक कार्यक्रममा सहभागी भएकी एभेइरालाई रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासबारे प्रश्न गरिएको थियो।
त्यसक्रममा उनले भनेकी थिइन्, ‘निश्चय नै ऊ दुःखी थियो। उनीहरूले उसलाई धोका दिए। म पनि दुःखी छु। डेनमार्कसँगको हार जायज थियो। वास्तवमा म त्यो हारबाट खुसी थिएँ।’
रोनाल्डोले नोभेम्बर ५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। पोर्चुगलका लागि २३४ खेल खेलेर १४६ गोल गरेका ४१ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय करिअर यससँगै टुंगिएको थियो।
तर, सन्यास घोषणाभन्दा एक महिनाअघि डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा सुरुआती टोलीमा नराखिने भएपछि सेप्टेम्बरमा पोर्चुगलको टिम क्याम्प छाडेका कारण उनी कारबाहीमा परेका थिए। उनलाई ३० दिनको निलम्बनसँगै २१५ पाउन्ड जरिवाना गरिएको थियो।
शनिबार डेनमार्कसँग ४–१ गोलको हार बेहोरेपछि पोर्चुगलले पहिलो खेल खेलेको थियो। त्यसपछि मंगलबार वेल्ससँग खेल्नुअघि प्रशिक्षक जिससलाई रोनाल्डोकी आमाको टिप्पणीबारे प्रश्न गरिएको थियो।
जवाफमा उनले भने, ‘अब मैले क्रिस्टियानो रोनाल्डोकी आमालाई पनि जवाफ दिनुपर्ने?’
उनले रोनाल्डोकी आमाप्रति सम्मान व्यक्त गर्दै थपे, ‘उहाँ एक महिला हुनुहुन्छ, जसको म निकै सम्मान गर्छु। उहाँले आफ्ना छोराछोरी हुर्काउन धेरै दुःख गर्नुभएको छ।’
रोनाल्डोको अन्तर्राष्ट्रिय सन्यासबारेको बहस कहिले सकिन्छ भन्ने प्रश्नमा जिससले भने, ‘यो कहिले रोकिन्छ, मलाई थाहा छैन। तपाईंहरूले प्रश्न सोध्नुभयो भने मैले जवाफ दिनुपर्छ। अर्को वर्ष पनि रोनाल्डोबारे प्रश्न गर्नुभयो भने म जवाफ दिनेछु।’