सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ।
सुदूरपश्चिमले विनोद भण्डारीको अर्धशतकमा लुम्बिनी लायन्सविरूद्ध ७ विकेटको जित हात पार्यो।
४९ बलमा ६९ रन बनाएका भण्डारी खेलको प्लेयर अफ दि म्याच समेत भए।
उनले सुदूरपश्चिमले फाइनल वा प्लेअफभन्दा पनि हरेक खेलमा राम्रो प्रदर्शन गर्ने विषयमा सोचेको बताए।
‘फाइनल पुग्ने भनेर सोचेको छैन। जित्नकै लागि खेलिरहेका छौँ। हरेक दिन मैदानमा राम्रो कसरी गर्ने भनेर सोचिरहेका छौँ,’ उनले भने ।
राष्ट्रिय टोलीका अरु खेलाडीले एनपिएलाई राष्ट्रिय टोलीको छनोटको रूपमा ब्याख्या गरिरहेको बेला भण्डारीले भने नकारे।
‘एनपिएल राष्ट्रिय टोलीका लागि छनोट म्याच हो भनेर कसले भन्छ? पहिला त्यो डिक्लेयर गर्नुपर्यो। अघिल्लो संस्करणमा पनि राम्रो प्रदर्शन गरेको थिएँ, तर क्याम्पमा पनि परिन। यो छनोट म्याच हो या होइनले मलाइ केही फरक नै पर्दैन,’ उनले असन्तुष्टि व्यक्त गरे।
भण्डारीमा यतिमै रोकिएनन्। उनले आफूले घरेलु एकदिवसीय प्रतियोगितामा पनि राम्रो खेलेको बताउँदै टोलीमा नपरेको बताए।
उनले भने, ‘५० ओभरको खेलमा पनि त्यस्तै प्रदर्शन भइरहेको छ। सेलेक्सन म्याच हो भने राम्रो प्रदर्शन गरेको खेलाडी किन टिममा पर्दैन? प्रधानमन्त्री कपमा पनि टप फाइभ पर्फमेन्स गरेका टप फाइभ खेलाडीहरु राष्ट्रिय टोलीको स्क्वाडमै छैनन्। यहाँ प्रदर्शन राम्रो गरेर टिममा परिन्छ भन्ने के आधार छ?’
उनले अघि थपे, ‘राम्रो प्रदर्शन गर्ने हो। अब कसले छनोट गर्छ या गर्दैनले मलाई फरक पर्दैन।’**
राष्ट्रिय टोलीबाट फेरि खेल्न विषयतर्फ संकेत गर्दै भने, ‘यो भन्दा ठूलो ठाउँमा अवसर मिले को जाँदैन?’्
भण्डारी सन् २०२३ यता राष्ट्रिय टोलीमा परेका छैनन्।