सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले साविक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रन बनायो।
चितवनका लागि दुवै ओपनरले अर्धशतक प्रहार गरे। डेभिड मलान र अर्जुन साउदबीच पहिलो विकेटका लागि १३.४ ओभरमा ११२ रनमा साझेदारी भयो।
साउदले ३९ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५२ रनको योगदान गरे। उनी यान निकोल लोफ्टी इटनको बलमा सञ्जय कृष्णमूर्तिबाट क्याच भए।
त्यसपछि सइफ जइब ७ र रवी बोपारा ३ रनमै आउट भए। जइबलाई अनिल साहले कृष्णमूर्तिबाट १५औं ओभरको अन्तिम बलमा क्याच गराए। बोपारा १७औं ओभरमा रुपेश सिंहको बलमा पाकिस्तानी खेलाडी माज सदाकतबाट क्याच हुँदै पेभिलियन फर्किए।
१९औं ओभरमा ओपनर मलान ८० रनमा आउट भए। उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। उनी सदाकतको एलबिडब्लूको धरापमा परेका थिए।
अन्त्यमा कप्तान कुशल मल्लले १४ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रनको योगदान दिए।
बलिङमा जनकपुरका सदाकत, अनिल साह, रुपेश सिंह र लोफ्टी इटनले १-१ विकेट लिए।
जनकपुरले आज पराजय भोगे औपचारिक रुपमा बाहिरिनेछ। गणीतिय रुपमा सम्भावना बाँकी राख्न आज उनलाई जितको खाँचो छ। जनकपुरले यसअघि खेलेका पाँचै खेलमा पराजय भोगेको थियो।
यता चार खेलबाट चर अंक जोडेको चितवनका लागि आज प्लेअफमा पुग्न जित निकाल्नु पर्ने दबाब छ।
चितवनले रिजन ढकाल र दीपक बोहारको स्थानमा सौगात ढकाल र अमरसिंह रौटेललाई खेलाएको छ।
जनकपुरको अनिलकुमार साह फर्किएका छन्। यस्तै सचिन भट्टले टोलीमा स्थान बनाएका छन्। आज ललित राजवंशी र किशोर महतो टोलीमा छैनन्।
चितवन प्लेइङ ११
कुशल मल्ल, रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौटेला, कमलसिंह ऐरी, सौगात ढकाल, डाविड मलान, रवि बोपारा, सैफ जैब, सोहइल तन्वीर
जनकपुर प्लेइङ ११
आशिफ शेख, अनिलकुमार साह, शुभ कंशाकार, सचिन भट्ट, मयन यादव, आदित्य महता, रुपेश सिंह, वायन पार्नेल, माज सदाकत, जन निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्ती