सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल को) साविक विजेता जनकपुर बोल्ट्सले हारको श्रृङ्खला तोडेको छ।
यसअघि लगातार चार खेलमा पराजय भोगको जनकपुरले आफ्नो पाँचौ खेलमा जित निकाल्ने क्रममा चितवन राइनोजमाथि मंगलबार ६ विकेटको जित निकालेको हो।
यो जितले लिग चरणबाट बाहिरिने संघारमा रहेको जनकपुरलाई राहत मिलेको छ। यद्यपी बाँकी दुवै खेल जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि जनकपुरलाई सहज हुनेछैन। किनभने प्लेअफमा पुग्न चितवन र लुम्बिनी लायन्सले बाँकी सबै खेल हार्नु पर्छ।
यता पाँचमध्ये तीन खेलमा पराजय भोगेको चितवनलेको प्लेअफ यात्रा कठिन बनेको छ। अब उसलाई बाँकी रहेका दुवै खेलमा जित निकाल्नु पर्ने भएको छ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
जनकपुरका लागि ओपनर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६३ रन बनाए। आसिफ शेख १८ बलमा १८ रन जोडेर आउट हुँदा अनिलकुमार साहले ३६ बलमा ६१ रन बनाए। अनिलले ४ चौका र ३ छक्का प्रहार गरे।
चितवनका कमलसिंह ऐरीले आसिफलाई छैटौं ओभरमा बोल्ड गरेका थिए। त्यतिबेला उनले सदाकतसँग ४५ रनको साझेदारी गरिसकेका थिए। सदाकतलाई अमसिंह रौटेलाले कुशल मल्लबाट १२औं क्याच गराए। उनले अनिल साहसँग दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे।
अनिल आउट हुनुअघि यान निकोल लोफ्टी इटन ११ रनमा रनआउट भएका थिए। यस्तै आदित्य महताले नटआउट १८ रन बनाए।
बलिङमा चितवनका सोहेल तन्विर, अमरसिंह रटेउला र कमलसिंह ऐरीले १-१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रन बनायो।
चितवनका लागि दुवै ओपनरले अर्धशतक प्रहार गरे। डेभिड मलान र अर्जुन साउदबीच पहिलो विकेटका लागि १३.४ ओभरमा ११२ रनमा साझेदारी भयो।
साउदले ३९ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५२ रनको योगदान गरे। उनी यान निकोल लोफ्टी इटनको बलमा सञ्जय कृष्णमूर्तिबाट क्याच भए।
त्यसपछि सइफ जइब ७ र रवी बोपारा ३ रनमै आउट भए। जइबलाई अनिल साहले कृष्णमूर्तिबाट १५औं ओभरको अन्तिम बलमा क्याच गराए। बोपारा १७औं ओभरमा रुपेश सिंहको बलमा पाकिस्तानी खेलाडी माज सदाकतबाट क्याच हुँदै पेभिलियन फर्किए।
१९औं ओभरमा ओपनर मलान ८० रनमा आउट भए। उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। उनी सदाकतको एलबिडब्लूको धरापमा परेका थिए।
अन्त्यमा कप्तान कुशल मल्लले १४ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रनको योगदान दिए।
बलिङमा जनकपुरका सदाकत, अनिल साह, रुपेश सिंह र लोफ्टी इटनले १-१ विकेट लिए।
चितवनले रिजन ढकाल र दीपक बोहारको स्थानमा सौगात ढकाल र अमरसिंह रौटेललाई खेलाएको थियो।
जनकपुरको अनिलकुमार साह फर्किएका थिए। यस्तै सचिन भट्टले टोलीमा स्थान बनाएका थिए। आज ललित राजवंशी र किशोर महतो टोलीमा थिएनन्।
चितवन प्लेइङ ११
कुशल मल्ल, रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौटेला, कमलसिंह ऐरी, सौगात ढकाल, डाविड मलान, रवि बोपारा, सैफ जैब, सोहइल तन्वीर
जनकपुर प्लेइङ ११
आशिफ शेख, अनिलकुमार साह, शुभ कंशाकार, सचिन भट्ट, मयन यादव, आदित्य महता, रुपेश सिंह, वायन पार्नेल, माज सदाकत, जन निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्ती