नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको खराब प्रदर्शन जारी छ। लगातार चार खेलमा पराजित भएपछि टोलीको प्लेअफ सम्भावना पनि कमजोर बनेको छ। तर पोखराका युवा ब्याटर अर्जुन कुमालले बाँकी खेल जित्ने लक्ष्यबाट टोली पछि नहटेको बताएका छन्।
शुक्रबार चितवन राइनोजसँग ३० रनले पराजित भएपछि अर्जुनले टोली अहिले खराब समयबाट गुज्रिरहेको स्वीकार गरे। उनले क्रिकेटमा जे पनि सम्भव हुने भन्दै बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने प्रयास गर्ने बताए।
'अहिले हाम्रो प्लेअफ पुग्ने सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ। तर हामी हरेक खेल जित्ने लक्ष्यसहित मैदान उत्रनेछौँ। क्रिकेटमा जे पनि हुन सक्छ,' उनले भने।
चितवनविरुद्ध पोखराको ब्याटिङमा अर्जुनले सबैभन्दा बढी रन बनाए। उनले ४४ बलमा ३ चौका र १ छक्कासहित ४५ रन जोडे। तर उनको धैर्यपूर्ण इनिङ्सले पनि टोलीलाई जित दिलाउन सकेन। १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटिएको थियो।
टर्निङ पिचमा ब्याटिङ चुनौतीपूर्ण
अर्जुनले यसपटकको प्रतियोगितामा पिचको अवस्थाले पनि ब्याटिङमा चुनौती थपेको बताए। विशेषगरी बल टर्न हुने पिचमा ब्याटरलाई सहज नभएको उनको भनाइ छ।
उनले आफूलाई दिइएको जिम्मेवारीअनुसार खेल्ने प्रयास गरे पनि महत्वपूर्ण समयमा टोलीले लय कायम राख्न नसकेको बताए। सुरुवातमा राम्रो अवस्था बनाए पनि निर्णायक समयमा भएका गल्तीले टोलीले खेल गुमाउनुपरेको उनको विश्लेषण छ।
ओमानको एकदिवसीयबाट टी–२० मा फर्किँदा चुनौती
अर्जुनले ओमानमा एकदिवसीय क्रिकेट खेलेर सीधै टी–२० प्रतियोगितामा आउँदा खेलको गतिसँग अभ्यस्त हुन केही चुनौती भएको पनि बताए।
एकदिवसीय र टी–२० क्रिकेटको प्रकृति फरक हुने भएकाले ब्याटिङमा समय र स्ट्रोक प्ले सुधार गर्नुपर्ने उनको बुझाइ छ। उनले अभ्यासमार्फत आफ्नो खेल सुधार्ने प्रयास गरिरहेको बताए।
टोलीबाहिर रहँदा वा प्लेइङ ११ मा अवसर नपाउँदा पनि आफूले नियन्त्रण गर्न सक्ने कुरामा ध्यान दिने अर्जुनको भनाइ छ। टिम छनोट आफ्नो हातमा नहुने भन्दै अवसर पाएको समयमा प्रदर्शन गरेर प्रमाणित गर्नु नै खेलाडीको जिम्मेवारी भएको उनले बताए।
दर्शक घट्नुमा आफ्नै प्रदर्शन जिम्मेवार
पोखराका खेलमा पछिल्ला दिनमा दर्शकको उपस्थिति घट्दै गएको विषयमा पनि अर्जुनले खुलेर प्रतिक्रिया दिए।
उनका अनुसार टोलीले राम्रो प्रदर्शन गर्दा दर्शकले साथ दिन्छन्, तर लगातार खराब नतिजा आउँदा दर्शकको आकर्षण घट्नु स्वाभाविक हो। टोली अहिले खराब चरणबाट गुज्रिरहेको स्वीकार गर्दै उनले खेलाडीहरू आफ्नो प्रदर्शन सुधार्न प्रयासरत रहेको बताए।
यसैबीच, टोलीको कप्तानी परिवर्तनबारे सोधिएको प्रश्नमा अर्जुनले अन्तिम समयमा मात्रै आफूले त्यसबारे जानकारी पाएको बताए।
लगातार चार हारपछि पोखरा अंकतालिकामा अंकविहीन रहँदै आठौं स्थानमा छ। चितवनसँगको हारले टोलीको प्लेअफ यात्रा थप कठिन बनेको छ। अब पोखरासँग बाँकी खेलमा जित निकाल्नुको विकल्प छैन।