नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।
कर्णालीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। जवाफमा चितवनले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमायो।
चितवनका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। ओपनर कामिल मिशाराले १७ बलमा २५ रन जोडे। कुशल मल्लले १५ बलमा १८ तथा देव खनालले १३ बलमा १४ रन बनाए।
अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। कप्तान सिकन्दर रजा २ रनमा आउट हुँदा विवेक यादवले ६, डान माउस्लीले ८ र सलाहुद्दिन खानले ७ रन बनाए। अशोक धामीले ७ बलमा ११ रन थपे।
कर्णालीको बलिङमा हुसैन तलात सर्वाधिक सफल रहे। उनले ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। पवन सर्राफ र मार्क वाटले समान २ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे।
यसअघि कर्णालीका लागि हुसैन तलातले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ३३ बलमा २ चौका र ३ छक्कासहित अविजित ५१ रन बनाएका थिए। अरिफुल इस्लामले १५ बलमा ३५ तथा गुल्सन झाले ६ बलमा १८ रन जोडेका थिए।
बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका तलात खेलका मुख्य नायक बने।
यस जितसँगै कर्णालीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको कर्णालीले प्रतिष्ठाको खेलमा चितवनलाई हराएको हो। चितवन भने शीर्ष दुईमा पुग्न असफल भएपछि एलिमिनेटर खेल्नेछ।