नेपाल प्रिमियर लिग (एनपlएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि काठमाडौं गोर्खाजका कप्तान करण केसीले कुशल भुर्तेलको ब्याटिङको प्रशंसा गरेका छन्।
कुशललाई ९९ रनमा आउट गर्दा विकेट लिएको खुसी भए पनि उनको उत्कृष्ट ब्याटिङका कारण आफूलाई मिश्रित अनुभूति भएको करणले बताएका छन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले काठमाडौंलाई ५५ रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो। जवाफमा काठमाडौं १९.५ ओभरमा १६९ रनमा अलआउट भयो।
पोखराका लागि कुशलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाएका थिए। उनी शतक बनाउन एक रनले चुके। करणले नै कुशललाई १८.२ ओभरमा आउट गरेका थिए।
खेलपछि प्रतिक्रिया दिँदै करणले कुशलको ब्याटिङलाई अद्भुत भन्दै प्रशंसा गरे। आफ्नो टोलीका लागि महत्वपूर्ण विकेट लिन पाउँदा खुसी लागे पनि कुशलले खेलेको इनिङ्सका कारण उनको विकेट लिँदा फरक अनुभूति भएको उनले सुनाए।
करणले खेलको पिचबारे पनि आफ्नो धारणा राखेका छन्। उनका अनुसार क्रिजमा जमिसकेको ब्याटरका लागि रन बनाउन सहज भए पनि नयाँ ब्याटरलाई आएर तत्काल रन बनाउन भने कठिन थियो।
पोखराले दोस्रो विकेटका लागि कुशल र युभराज सामराबीच १८६ रनको साझेदारी गरेको थियो। करणले पनि क्रिजमा सेट भएका ब्याटरले ठूलो रन बनाउन सक्ने कुराको उदाहरणका रूपमा उक्त साझेदारीलाई उल्लेख गरेका छन्।
उनले खेलको रणनीतिबारे कुरा गर्दै लक्ष्य पछ्याउँदा अन्तिम १० ओभरमा टोलीले अपनाएको योजनाबारे पनि बताएका थिए। तर, अपेक्षाअनुसार लक्ष्य भेट्टाउन काठमाडौं असफल भयो।
हारका बाबजुद करणले टोलीको मनोबल कमजोर नभएको बताएका छन्। पछिल्ला नतिजाले निराश नभई सकारात्मक सोचका साथ आगामी खेलमा केन्द्रित हुने उनको भनाइ थियो। टोलीले आफ्ना कमजोरी विश्लेषण गर्दै आगामी खेलमा सक्दो राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको उनले बताए।
लिग चरणको अन्तिम खेलमा पराजित भएपछि काठमाडौंले अंक तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्नेछ। अब काठमाडौंले एलिमिनेटरमा चितवन राइनोजको सामना गर्नेछ। उक्त खेलमा जित निकाल्न नसके काठमाडौंको एनपीएल यात्रा समाप्त हुनेछ।