नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो। यो एनपिएलकै सर्वाधिक स्कोर हो। यसअघि विराटनगरले गत सिजन पोखराविरूद्ध नै २२० रन बनाएको थियो।
पोखराका कुशल भुर्तेल र युवराज सम्राले विस्फोटक ब्याटिङ गरे। दुवैले दोस्रो विकेटका लागि १८६ रनको विशाल साझेदारी गरे।
कुशल शतक बनाउन एक रनले चुके। उनले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए। उनी १९औँ ओभरमा करण केसीको बलमा आउट भए।
युवराजले ५५ बलमा ८ चौका र ५ छक्कासहित ८९ रन बनाए। उनी १९औँ ओभरको पाँचौँ बलमा करण केसीकै बलमा आउट भए।
पोखराका लागि कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै ७ बलमा १९ रन बनाएर अविजित रहे। धनञ्जय लक्षान २ रनमा नटआउट रहे।
काठमाडौंका करण केसीले २ विकेट लिए। जहान्दाद खानले १ विकेट हात पारे।
यस खेलसँगै पोखराको एनपीएल यात्रा समाप्त हुँदैछ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा जितसहित प्रतियोगिता टुंग्याउन खोजेको छ।
यता काठमाडौंका लागि भने यो खेल निकै महत्वपूर्ण छ। क्वालिफायरमा स्थान बनाउन काठमाडौंलाई यो खेल जित्नैपर्ने दबाब छ। त्यसैले २२५ रनको लक्ष्य पछ्याउँदा काठमाडौंका लागि ब्याटिङ र रनरेट दुवै महत्वपूर्ण हुनेछन्।
लिग चरणको अन्तिम खेल भएकाले यस खेलको नतिजाले प्लेअफको समीकरणलाई अन्तिम रूप दिनेछ।