२०औं एसियन गेम्स इची-नागोया २०२६ को शनिबार औपचारिक उदघाटन हुनुअघि जापान पुगेका विभिन्न देशका खेलाडी तथा प्रतिनिधिमण्डलले अस्थायी आवास, साना पलङ, यातायात र प्रवेश पास (एक्रिडिटेसन) को सास्ती व्यहोर्नुपरेको छ।
दक्षिण कोरिया, भारत, फिलिपिन्स लगायतका टोलीले आयोजकको फितलो व्यवस्थापनप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।
आवास र खाटको सास्ती
दक्षिण कोरियाली प्रतिनिधिमण्डलले अस्थायी आवास र छोटा पलङबारे सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेको छ।
६ फिट ७ इन्च भन्दा अग्ला खेलाडीले खाटमा खुट्टा तन्काएर सुत्न समेत नपाएको कोरियाली बास्केटबल संघका उपाध्यक्ष जुङ जे-योङले बताएका छन्।

कोरियाली बास्केटबल खेलाडी ब्योन जुन-ह्योङले आफ्नो कोठाको सिङ्क चुहिएर भुइँ भिजेको भिडियो सार्वजनिक गर्दै ‘हामीलाई सहयोग गर्नुहोस्’ भनेर लेखेका थिए। भारी वर्षा र बाढीका कारण केही खेलाडीलाई अस्थायी आवासबाट अन्यत्र स्थानान्तरण समेत गर्नुपरेको थियो।
यसैबीच,भारतीय टोलीलाई जापान जानुअघि अभ्यस्त बनाउनका लागि स्वदेशमै यस्तै प्रकारका अस्थायी टहराहरू बनाइएको थियो। उता फिलिपिन्सका सबै खेलाडीले कोठा पाए पनि केही अधिकारी र प्रशिक्षकलाई भने फरक होटल तथा एअरबिएनबीमा सारिएको फिलिपिन्स ओलम्पिक समितिका अध्यक्ष अब्राहम टोलेन्टिनोले बताएका छन्।

कोठा पाउन ११ घण्टाको पर्खाइ र खानाको अभाव
विभिन्न खेलका टोलीले कोठा व्यवस्थापनमा घण्टौँ ढिलाइ भोगेका छन्। भारतीय रोइङ टोली आयोजकले तोकेको क्रुज सिपमा बिहान ९ बजे पुगेको ११ घण्टाभन्दा बढी समय बित्दा पनि धेरै खेलाडी कोठाको पर्खाइमा थिए। २२ जना पुरुष रोइङ खेलाडीमध्ये ३ जना र ५ जना महिला खेलाडीमध्ये ३ जनाको नाम आयोजकको दर्ता सूचीमै नरहेको भारतीय रोइङ संघका अधिकारीले बताएका छन्।
लामो पर्खाइका क्रममा आयोजकले पानी मात्र उपलब्ध गराएको र उचित खाना नदिएकाले भारतबाटै ल्याइएको खानेकुरा खानुपरेको र पर्याप्त निद्रा नपुगेको खेलाडीले बताएका छन्।
यातायात र प्रवेश पासमा भद्रगोल
भारतीय सुटिङ टोली विमानस्थलमा ओर्लिएपछि होटल पुग्न करिब ३ घण्टा पर्खिनुपर्यो र उनीहरूका लागि तोकिएको होटल अरूले नै ओगटेकाले बिहान ४ बजे अर्कै होटलमा सारिएको थियो।
सुटिङका मुख्य प्रशिक्षक समरेश जङले प्रवेश पास (एक्रिडिटेसन) को समस्याका कारण खेल मैदानमा प्रवेश नै पाएनन्। उसु र टेबलटेनिस टोलीले पनि दर्ता र कोठा पाउने क्रममा झन्झट व्यहोरेका थिए।
यातायातको समस्याले प्रशिक्षण सत्रहरू समेत प्रभावित भएका छन्। दक्षिण कोरियाको पुरुष फुटबल टोलीका लागि तोकिएको बस नआउँदा टोली २० मिनेट ढिलो पुगेको थियो भने अघिल्लो दिन बसले मिझुहो रग्बी रंगशालाको सट्टा बेसबल मैदानमा पुर्याउँदा ३० मिनेट ढिलाइ भएको थियो। कोरियाली फुटबल संघका अधिकारीले हरेक तालिम र आधिकारिक कार्यक्रममा सवारी साधनको तालिकामा समस्या आइरहेको बताएका छन्।
आयोजकको प्रतिक्रिया
आयोजक समितिका आवास व्यवस्थापक युता मात्सुओले खेलाडी प्रतिनिधिमण्डलका असन्तुष्टि र चिन्ताबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको बताएका छन्। उनले खेलाडीको बसोबासको वातावरण सुधार्नका लागि ठोस कदम चालिरहेको दाबी गरेका छन्। त्यसैगरी आयोजक समितिका अध्यक्ष हिदेआकी ओमुराले प्राप्त फरक मत र गुनासामाथि उपयुक्त सम्बोधन गरिने स्पष्ट पारेका छन्।