जापानको इची-नागोयामा भइरहेको एसियन गेम्समा नेपालको प्रदर्शन फिक्का छ। नेपालले अहिलेसम्म दुई वटा मात्र कास्य जित्न सफल भएको छ।
करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य पदक जितेका छन्। चार वर्षअघिदेखि नै सरकारले स्वर्णसहित दोहोरो पदक जित्ने भन्दै तयारी थालेको थियो।
तर मैदानमा नेपालको प्रदर्शन खराब रहेपछि यसलाई सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदमा लगानी नपुगेको बताए।
ओलम्पिक तथा एसियन गेम्स जस्ता ठूला प्रतियोगिताहरूमा मेडल ल्याउन नसक्नुको मुख्य कारण ग्रासरुट (तल्लो तह) मा राम्रोसँग लगानी गर्न नसक्नु रहेको उनले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा भने।
साथै खेलकुद क्षेत्रको सही विकासका लागि पूर्वाधार तथा ग्रासरुट लेभलबाटै खेलाडीहरूको विकासमा लगानी गर्नुपर्ने र त्यसपछि मात्र विस्तारै नतिजा (रिजल्ट) आउने उनको भनाइ छ।
खेलाडीहरूलाई प्रोत्साहन गर्न सरकारले घोषणा गरेको नगद पुरस्कार अर्थ मन्त्रालयसँग समन्वय गरी सुनिश्चितताका साथ उपलब्ध गराइने प्रतिबद्धता पनि उनले बताए।
घरेलु फुटबल तथा निजी क्षेत्रसँगको फ्रेन्चाइज र कर्पोरेट/कप मोडलमा लिग सञ्चालन गर्ने विषयमा सरकार पूर्ण रूपमा सकारात्मक रहेको मन्त्रीले बताए। यसअघि मन्त्रीकै उपस्थितिमा यसैमहिनादेखि नेपाल सुपर लिग सञ्चालन गर्ने निर्णय भएको थियो।
तर यो बीचमा सरकारले हस्तक्षेत्र गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई फिफाले निलम्बन गरेको अवस्था छ। साथै एन्फाले निलम्बनका फुकुवाका लागि सरकारलाई दबाब दिँदा उल्टै एन्फाका कोषाध्यक्ष रविन्द्र जोशीसहित लेखापाल पक्राउ परेका छन्। उनीहरुलाई बहराइनसँगको होम म्याचमा अनिमितता गरेको भन्दै अनुसन्धान गर्न पक्राउ गरेको प्रहरीको भनाइ छ।