गर्मीको समय, भरिएका स्टेडियम, पूर्ण दर्शक, आकर्षक जर्सी, व्यक्तिगत प्रतिभा र यादगार गोलहरू।
मैदान बाहिरका घटनाहरू पनि मैदानभित्रको जस्तै चर्चित थिए।
फुटबलको सबैभन्दा ठूलो मञ्चलाई हलिउड शैलीमा सजाएर प्रस्तुत गरिएको थियो।
यो त्यही ग्रीष्म थियो जब 'सकर' अमेरिकामा अवतरण भयो। सेलिब्रिटीहरूको स्वागतमा थिए स्टिभी वन्डरदेखि रोबिन विलियम्स, ओप्रा विन्फ्रेदेखि डायना रससम्म सहभागी भएका थिए।
‘हामीले यो बनायौं कि यो टिकट पाउनैपर्ने ठूलो कार्यक्रम हो,' पूर्व अमेरिकी फुटबल संघका अध्यक्ष एलन रोथेनबर्गले भने, ‘हामीले जसरी विश्वकप आयोजना गर्यौं, त्यसले सबै कुरा बदलिदियो।’
यो हो युएसए १९९४ को कथा — एउटा महादेशलाई फुटबलप्रति जागृत गर्ने ग्रीष्म।
९ वर्षअघि मात्र अमेरिकाको एकमात्र व्यावसायिक लिग नर्थ अमेरिकन सकर लिग (एनएएसएल) बन्द भएको थियो। त्यस लिगमा पेले, बेकेनबाउर, क्रुइफ जस्ता लिगेन्डहरूले खेलिसकेका थिए। तर आर्थिक समस्या र दर्शक घट्दै गएपछि लिग सकियो।
फिफाले अमेरिकालाई युरोप वा ल्याटिन अमेरिकाबाहिर पहिलो पटक विश्वकप आयोजना गर्न दिने निर्णय गर्यो। तर एउटा शर्त थियो — नयाँ व्यावसायिक लिग (एमएलएस) सुरु गर्नुपर्ने।
लास भेगासको सिजर्स प्यालेसमा भएको ड्रमा जेम्स ब्राउन र स्मोकी रोबिन्सनले गाए। रोबिन विलियम्सले हातमा सर्जिकल ग्लोभ लगाएर टिम ड्र गरे र मजाक गरे।
हलिउड बाउलमा एक हप्तासम्म कन्सर्ट भयो। स्टिभी वन्डर, एनरिक इग्लेसियास, ब्रायन एडम्स जस्ता सेलिब्रिटीहरूले प्रचारमा भाग लिए।
रोथेनबर्ग भन्छन्, 'अमेरिकामा विश्वकपप्रति खासै चासो थिएन। तर अमेरिकनहरू ठूला कार्यक्रम मन पराउँछन्। त्यसैले हामीले सेलिब्रिटी र मनोरञ्जनसँग जोडेर प्रचार गर्यौं।’
रोथेनबर्गले जिम्मेवारी सम्हाल्दा अमेरिकी फुटबल संघ ट्रेलरमा बसेर काम गर्ने सानो संस्था थियो। उनीहरूले विश्वकपको फाइदा उठाएर स्पन्सरसिप र राम्रा सुविधा बनाए।मैदानमा पनि सुधार गर्नुपर्थ्यो।
सन् १९९० को विश्वकपमा अमेरिकाले सबै खेल हारेको थियो। त्यसपछि बोरा मिलुटिनोभिकको प्रशिक्षणमा टिमलाई क्लब जसरी तयार पारियो।
१६ महिनासम्म रेसिडेन्सी क्याम्प चलाइयो, ९० भन्दा बढी मैत्रीपूर्ण खेल खेलियो ।
उद्घाटन समारोहमा ओप्रा विन्फ्रे स्टेजबाट खसेकी थिइन्। डायना रसले पेनाल्टी मिस गरिन् र गोलपोस्ट पनि ढल्यो। त्यही दिन ओजे सिम्पसनको प्रसिद्ध कार चेस प्रसारण भयो।
आयरल्यान्डले इटालीलाई १-० ले हरायो। रे हटनको गोल चर्चित भयो। अमेरिकाले स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेल्दै आफ्नो पहिलो गोल एरिक वाइनाल्डाले गरे।
म्याराडोनाले ग्रीसविरुद्ध राम्रो गोल गरे तर लागू पदार्थको परीक्षणमा फेल भएपछि प्रतिबन्ध लाग्यो। कोलम्बियाका एन्ड्रेस एस्कोबारले आफ्नै गोलमा गोल गरेपछि टिम बाहिरियो। घर फर्किएपछि १० दिनमै उनको गोली हानी हत्या भयो।
अमेरिकाले समूह चरण पार गर्यो र १६ औं चरणमा ब्राजिलसँग ४ जुलाईमा खेल्यो। ब्राजिलले १-० ले जित्यो। ट्याब रामोस घाइते भए पनि अमेरिकी फ्यानहरू खुशी थिए।
इटालीले कठिन संघर्ष गरेर फाइनलसम्म पुग्यो।
बुल्गेरियाको ह्रिस्तो स्टोइचकोभ र रसियाको ओलेग सालेङ्कोले गोल्डेन बुट साझा गरे। रोबर्टो बाजियोले इटालीको लागि जादुमयी प्रदर्शन गरे। रोमानियाको जियोर्ज हागीले पनि उत्कृष्ट खेल देखाए।
फाइनलमा ब्राजिल र इटाली भिडे। खेल ०-० को बराबरी भयो। पेनाल्टी सुटआउटमा बाजियोले मिस गरे र ब्राजिलले उपाधि जित्यो।
१९९४ को विश्वकप सफल भयो। सन् १९९६ मा मेजर लिग सकर (एमएलएस) सुरु भयो। जसले अमेरिकामा फुटबललाई स्थायी रूपमा स्थापित गर्यो।
अहिले अमेरिकामा बच्चाहरू फुटबल खेलिरहेका छन्, जर्सी लगाइरहेका छन् र २०२६ को विश्वकप पनि अमेरिकाले आयोजना गर्दैछ। यो नै युएसए ९४ को असली लिगेशी हो।
-बिबिसीमा प्रकासित सामग्रीको भावानुवाद