अमेरिकाको अलाबामास्थित जोर्डन-हेयर स्टेडियममा उपस्थित हजारौँ फुटबल प्रेमीहरूको एउटै चाहना थियो— आफ्ना प्रिय खेलाडी लिओनल मेस्सीलाई मैदानमा देख्न। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले पनि दर्शकहरूको त्यो इच्छा पूरा गरिदिए।
मांसपेशीको थकानका कारण केही समय विश्राममा रहेका मेसी आइसल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलको ७०औँ मिनेटमा मैदान प्रवेश गरे। मैदान छिरेको केही समयमै उनले पेनाल्टीमार्फत सानदार गोल गर्दै टोलीलाई ३-० को जित दिलाउन मुख्य भूमिका खेले।
क्लब र देशका लागि गरी यो उनको करियरको ९११ औँ गोल हो। अर्जेन्टिनाका लागि उनको यो ११७ औँ गोल हो। यो गोलसँगै मेसी अर्जेन्टिनाको फुटबल इतिहासमै सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका छन्।
अमेरिकी क्लब इन्टर मियामीबाट खेल्ने क्रममा बायाँ ह्यामस्ट्रिङमा समस्या देखिएपछि मेसीले केही खेलहरू गुमाएका थिए। गत शुक्रबारदेखि मात्र उनले टोलीसँग आंशिक अभ्यास सुरु गरेका थिए। प्रशिक्षक स्कालोनीले विश्वकप अघि आफ्ना खेलाडीहरूलाई चोटबाट जोगाउन सावधानीपूर्वक मैदानमा उतारिरहेका छन्।
अर्जेन्टिनाका लागि पहिलो गोल एजेक्विल बारकोले पहिलो हाफमा गरेका थिए। मेसीको पेनाल्टी गोलपछि थियागो अल्माडाले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। यसअघि होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा भने मेस्सी मैदान उत्रिएका थिएनन्।
सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना अहिले आफ्नो उपाधि रक्षा गर्ने तयारीमा छ। मैत्रीपूर्ण खेलहरूमा लगातार दोस्रो जित निकालेको अर्जेन्टिनाले जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै विश्वकप २०२६ को सुरुवात गर्नेछ।