फिफा विश्वकप २०२६ सुरु हुन केही दिन मात्र बाँकी छँदा एउटा ठूलो विवाद सतहमा आएको छ। इरानको फुटबल महासङ्घका अनुसार फिफाले अमेरिकामा हुने इरानका तीनवटा खेलका लागि इरानी समर्थकहरूलाई छुट्याइएको टिकटको कोटा रद्द गरिदिएको छ।
नियम अनुसार विश्वकपमा सहभागी हुने ४८ देशका हरेक फुटबल सङ्घले रंगशालाको कुल क्षमताको ८ प्रतिशत टिकट आफ्ना समर्थकहरूलाई वितरण गर्न पाउँछन्। तर, इरानले आफ्ना समर्थकहरूलाई एउटै पनि टिकट उपलब्ध गराउन नसक्ने बताएको छ। इरानले यसको दोष आयोजक राष्ट्र अमेरिकालाई दिएको छ।
यो विवाद अमेरिका र इरानबीच चलिरहेको सैन्य द्वन्द्व (जुन फेब्रुअरी २८ बाट सुरु भएको थियो) को परिणाम मानिएको छ। इरानी फुटबल महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले इरानी समर्थकहरूलाई रंगशालामा आउनबाट रोक्न षड्यन्त्र गरिरहेको छ। यसले विश्वको सबैभन्दा ठूलो खेलकुद कार्यक्रममा गैर-खेलकुद र राजनीतिक प्रभाव कति छ भन्ने गम्भीर प्रश्न उठाएको छ।‘’
इरानी टोलीले पहिले अमेरिकाको एरिजोनामा अभ्यास गर्ने योजना बनाएको थियो। तर, युद्ध र असुरक्षाका कारण उनीहरू अहिले मेक्सिकोको सीमावर्ती सहर 'टिजुआना' मा बसिरहेका छन्। उनीहरू खेल खेल्न मात्र अमेरिका प्रवेश गर्नेछन्।
अमेरिकाले इरानका केही कोच र फुटबल अधिकारीहरूलाई भिसा दिन अस्वीकार गरेको छ। ह्वाइट हाउसका अनुसार "प्रशिक्षकको भेषमा संदिग्ध व्यक्तिहरू छिर्न सक्ने" भन्दै कडा जाँच गरिएको हो।
यो समस्या इरानमा मात्र सीमित छैन। सोमालियाका एक रेफ्रीलाई अमेरिका प्रवेशमा रोक लगाइयो भने इराकका एक खेलाडी र फोटोग्राफरलाई पनि विमानस्थलमा घण्टौँ केरकार गरियो।
फिफाले इरानी समर्थकहरूलाई खेल हेर्ने अवसर प्रदान गर्न इरानको फुटबल महासङ्घसँग मिलेर समाधान खोजिरहेको बताएको छ। यद्यपि ९ वर्षअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कुनै पनि समर्थक वा टोलीलाई प्रवेशमा रोक लगाए त्यो विश्वकप हुन सक्दैन’ भनेका थिए, तर अहिलेको वास्तविकता फेरिएको छ।
इरानका खेलहरू:
१. जुन १५: विरुद्ध न्युजिल्याण्ड (लस एन्जलस)
२. जुन २१: विरुद्ध बेल्जियम (लस एन्जलस)
३. जुन २६: विरुद्ध इजिप्ट (सियाटल)