PLAYERS TO WATCH
सधैं ऊर्जावान देखिने लुका मोड्रिच फेरि एकपटक विश्वको सबैभन्दा ठूलो मञ्च 'फिफा विश्वकप'मा क्रोएसियाको नेतृत्व गर्न तयार छन्। उनको प्रेरणादायी नेतृत्व र उत्कृष्ट कौशलकै कारण क्रोएसियाले पछिल्ला दुई विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१८ मा उपविजेता र २०२२ मा तेस्रो स्थान हासिल गर्यो।
हाल इटालियन क्लब एसी मिलानको मिडफिल्डका मुख्य आधार रहेका मोड्रिचको लक्ष्य २०२६ को फिफा विश्वकपमा पुनः पदक जित्ने हुनेछ। जुन उनको खेल जीवनको अन्तिम विश्वकप हुनसक्छ।
मोड्रिच आफ्नो असाधारण कला र शान्त तर प्रभावशाली नेतृत्व शैलीका कारण चर्चामा आए। 'डाइनामो जाग्रेब'बाट सुरू भएको उनको प्रतिभाले उनलाई इंग्लिस प्रिमियर लिग टोली 'टोटेनहम हट्सपर' पुर्यायो।
त्यसपछि उनी विश्वप्रसिद्ध स्पेनिस क्लब 'रियल म्याड्रिड'मा अनुबन्धित भए। जहाँ उनले सम्भव भएसम्मका सबै उपाधि जिते।
उनले ६ पटक युइएफए च्याम्पियन्स लिग, ४ पटक स्पेनिस लिग र ६ पटक फिफा क्लब विश्वकपसहित थुप्रै आन्तरिक तथा अन्तर्राष्ट्रिय ट्रफीहरू हात पारे। उनी एक दशकभन्दा बढी समयसम्म रियल म्याड्रिडको मिडफिल्डको मेरूदण्ड बनेर रहे।
प्राविधिक निपुणता, खेलको लय परिवर्तन गर्ने क्षमता र सटिक पासिङ उनको खेलको मुख्य विशेषता हो। मोड्रिच विश्व फुटबलमा खेलको गतिलाई नियन्त्रण गर्ने एक आधुनिक 'प्लेमेकर'को रूपमा आफूलाई स्थापित गरेका छन्।
सन् २०१८ उनको खेल जीवनको स्वर्ण वर्ष रह्यो। क्रोएसियालाई सन् २०१८ रूस विश्वकपको फाइनलसम्म पुर्याएपछि मोड्रिचले 'फिफा द बेस्ट' अवार्ड जिते र आफूलाई विश्वका सर्वकालीन महान खेलाडीहरूको सूचीमा उभ्याए।
स्पेनको राजधानी म्याड्रिडमा १३ वर्षको गौरवमय यात्रापछि मोड्रिच गत वर्ष उत्तरी इटाली प्रस्थान गरे। हाल उनी 'सिरी ए' मा आफ्नो जादु देखाइरहेका छन् र आफ्नो अनुभवले एसी मिलानलाई नयाँ ऊर्जा दिइरहेका छन्।
देशका लागि करिब २०० क्याप (१९८) जितिसकेका मोड्रिच प्रशिक्षक ज्लाट्को डालिचको टोलीका प्रमुख खम्बा हुन् र उनी २०२६ को विश्वकपमा अर्को एउटा आश्चर्यजनक नतिजा निकाल्न दृढ छन्।

फ्रान्सका पूर्वकप्तान तथा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान मोड्रिचको निकै प्रशंसा गर्छन्।
भन्छन्, ‘लुका कुनै टोलीको मुटु हुन्। मैदानमा हरेक कुरा उनकै माध्यमबाट अघि बढ्छ र उनले सबै कुरा सहज बनाइदिन्छन्।’
अर्का प्रशिक्षक कार्लो एन्सेलोटीले पनि उनका लागि शब्द खर्चिएका छन्।
‘मोड्रिच जुनसुकै स्थानमा खेल्न सक्छन् किनभने उनी एक पूर्ण र आधुनिक मिडफिल्डर हुन्। उनी एक सच्चा व्यावसायिक खेलाडी र मैले प्रशिक्षण दिएका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनीसँग फुटबलप्रति ठूलो लगाव छ, त्यसैले उनी यति लामो समयसम्म खेलिरहेका छन्। मोड्रिच अद्वितीय छन्, उनीजस्तो अर्को कोही छैन’, एन्सेलोटीले भने।
मोड्रिच प्रायः गल्लीहरूमा फुटबल खेलेर हुर्किए, जसले गर्दा उनमा असाधारण प्रविधि र जुझारूपन विकास भयो। सानो छँदा उनको दुब्लो शरीरका कारण धेरै क्लबहरूले उनलाई अस्वीकार गरेका थिए। डाइनामो जाग्रेबको सुरुवाती समयमा पनि धेरैले उनलाई विश्वास गरेका थिएनन्, तर उनले आफ्नो त्यही कमजोरीलाई आफ्नो सबैभन्दा ठूलो शक्तिमा बदले। उनले खुट्टाको बाहिरी भाग प्रयोग गरेर प्रहार गर्ने पास र सट विश्वभर प्रसिद्ध छ।
६ पटक युइएफए च्याम्पियन्स लिग जितेका मोड्रिचसँग ड्यानी कार्भाहाल र फ्रान्सिस्को गेन्टोको बराबरीमा सबभन्दा धेरै यो उपाधि जित्ने कीर्तिमान छ।
क्रोएसियाका लागि १९८ खेल खेल्दै उनी देशका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। रियल म्याड्रिडको इतिहासमा २८ ट्रफीका साथ उनी सबैभन्दा सफल र सम्मानित खेलाडी हुन्। उनी रेकर्ड १२ पटक 'क्रोएसियाको वर्ष खेलाडी' घोषित भएका छन्।
उनको विश्वकप यात्रा सन् २००६ मा जर्मनीबाट सुरू भएको थियो। त्यसबेला क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो। २०१० को विश्वकपमा भने क्रोएसिया छनोट हुन सकेन। सन् २०१४ को ब्राजिल विश्वकपमा पनि टोली समूह चरणबाटै बाहिरियो। मोड्रिचले तीनवटै खेल खेले पनि क्रोएसियाले क्यामरुनमाथि मात्र जित हात पार्न सक्यो।

सन् २०१८ को रूस विश्वकपमा भने कथा बदलियो। कप्तानको आर्मब्यान्ड लगाएका मोड्रिचले टोलीको सफल नेतृत्व गरे। अर्जेन्टिना र नाइजेरिया विरुद्ध गोल गर्दै उनले टोलीलाई फाइनलसम्म पुर्याए। यद्यपि, फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित हुँदा मोड्रिच विश्वविजेता बन्नबाट चुके।
सन् २०२२ को कतार विश्वकपमा पनि क्रोएसियाले शानदार प्रदर्शन गर्यो। जापान र ब्राजिलजस्ता देशलाई हराउँदै सेमिफाइनल पुगेको क्रोएसिया अर्जेन्टिनासँग पराजित भयो, तर मोरक्कोलाई हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो।
सन् २०२६ को विश्वकपका लागि क्रोएसिया समूह 'एल' मा इङ्गल्याण्ड, घाना र पनामासँगै रहेको छ। मोड्रिच र उनको टोलीको लक्ष्य पुनः नकआउट चरणमा पुग्दै अघिल्ला दुई विश्वकपको विरासतलाई निरन्तरता दिनेछन्। क्रोएसियाको अन्तिम लक्ष्य भनेको सन् २०१८ मा चुकेको उपाधि जित्दै इतिहासमै पहिलोपटक विश्वविजेता बन्नु रहनेछ।