अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणमा भारतका चर्चित निर्देशक अनुराग कश्यपले सिनेमासम्बन्धी आफ्ना अनुभव बाँड्ने भएका छन्। बैशाखको २३ देखि २७ सम्म आयोजना हुने महोत्सवको पहिलो उद्घाटनपछिको पहिलो सत्रमा आफ्ना अनुभव बाँड्ने भएका हुन्।
कोरोनाका कारण भर्चुअल हुने सो सत्र दिउँसो ३:३० बाट करिब १:३० चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले बताए। दोस्रो दिनदेखि सिनेमासम्बन्धी विभिन्न विषयमा छफलल र बहस सञ्चालन हुनेछन्।
अनुराग कश्यप भारतीय सिनेमा उद्योगमा लेखक, निर्माता, अभिनेता र सम्पादकका रुपमा सक्रिय छन्। सन् २०१२ को उनको फिल्म 'ग्याङ्स अफ वासेपुर' फ्रान्सको 'क्यान्स फेस्टिभल'को 'डाइरेक्टर्स फोर्टनाइट'मा प्रदर्शन भएपछि उनको चर्चा चुलियो। अस्कर अवार्डमा मनोनित 'वाटर'मा हिन्दी संवाद, 'ब्ल्याक फ्राइडे', 'गुलाल', 'देव डी', 'द्याट गर्ल इन येल्लो बुट्स' र 'लन्च बक्स' लगायत फिल्ममा सहभागीता र तिनले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त गरेको सफलताले उनी स्थापित भएका हुन्।
महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार महोत्सवमा सहभागी फिल्महरु नेट टेलिभिजनबाट प्रसारण गरिने छन्।
‘विश्वका कथाहरुको उत्सव’ नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको महोत्सवमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइने र अवार्ड पनि वितरण गरिने अध्यक्ष पाठकले बताए।
कोभिड–१९ ले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ।
महोत्वमा सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलर राशीको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ।
त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ र फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने जनाइएको छ।
महोत्सवबारे विस्तृत जानकारीका लागि-
https://niff.org.np/events/