सोमबार लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको बजार मंगलबार सम्हालिने प्रयासमा देखियो।
निर्वाचनपछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनुपरेको थियो। मात्रै करिब चार मिनेट कारोबार हुँदा नेप्से ६ प्रतिशत १६२ ले बढेको थियो।
मंगलबार पनि नेप्सेमा करिब एक सय अंकको 'स्वीङ' देखियो। बजार खुलेको केही समयसम्म २९११ मा रहिरहेको बजार केही समयमै घट्न थालेर कारोबारको मध्यमा २७९६ विन्दुसम्म पुग्यो।
सोमबारको तुलनामा मंगलबार कारोबार बन्द हुँदा नेप्से ३२ अंकले घटेर २८४३ विन्दुमा रह्यो।
मंगलबार कारोबार रकम भने करिब आठ महिनायताकै उच्च भएको छ। यस दिन २१ अर्ब ५० करोड रूपैयाँको सेयर किनबेच भयो।
यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। साउन ११ यता सबभन्दा धेरै कारोबार भएको मंगलबार नै हो।
यसले के संकेत गरिरहेको छ?
लामो समयदेखि बढ्न नसकिरहेको सेयर बजार सोमबार कारोबार नै गर्न नपाउँदा पनि उच्चले बढेपछि मंगलबार धेरै लगानीकर्ताहरू 'प्रफिट' बुकिङमा लागेको ब्रोकर सन्तोष मैनाली बताउँछन्।
'सोमबार खासै सेयर बिक्री गर्नै नपर्दा पनि मूल्य उच्चले बढेपछि मंगलबार नाफा सुरक्षित गर्न बिक्री बढेको हो,' उनले भने।
सोमबारको वृद्धिको तुलनामा मंगलबार बजार न्यूनले घटेकोले बजार संयमित हुन लागेको अर्थमा लिनुपर्ने पनि मैनालीको भनाइ छ।
लामो समयदेखि बजार बढ्न नसकेको र सोमबारको वृद्धि पनि धेरै नभएकाले अहिले नै लगानीकर्ताहरू आत्तिन नहुने पनि उनी बताउँछन्।
बैंकहरूमा पर्याप्त तरलता रहेको, अन्तर्राष्ट्रिय स्तरमा केही दबाब देखिए पनि अहिले नै नेपालमा त्यसको ठूलो प्रभाव पर्ने अवस्था नरहेको पनि उनको भनाइ छ।
'इरान–इसराइल द्वन्द्वले नेपाललाई अहिले नै प्रभाव पर्ने देखिएको छैन। विदेशी मुद्रा सञ्चितिको अवस्था अझै बलियो रहेकाले डराइहाल्नुपर्ने अवस्था छैन,' मैनालीले भने।
नेपाली कम्पनीहरूको कारोबार अन्तर्राष्ट्रिय बजारमा नहुने भएकोले अन्यत्रको बजार घट्दैमा नेपाली लगानीकर्ताहरू आत्तिनुनपर्ने पनि उनी बताउँछन्।
तर इरान–इसरायल द्वन्द्व लम्बिँदै गए यसले यहाँ महँगीमा प्रभाव पार्न, छोटो समयलाई रेमिटेन्स प्रवाह घट्न, उपभोक्ताको खर्च क्षमता घट्न सक्छ।
अमेरिकाले यो द्वन्द्व चाँडै अन्त्य हुने बताइरहेको छ। त्यसैले सेयर बजारमा खासै प्रभाव नपर्न सक्छ।
मुलुकभित्रकै अन्य अवस्थामा भने खासै परिवर्तन नभएकाले बजारले सकारात्मक दिशा समात्नेमा लगानीकर्ताहरू आशावादी देखिएका छन्।
अहिले पनि बैंकिङ प्रणालीमा पर्याप्त कर्जा लगानी योग्य रकम हुनु, ब्याजदर कम हुनु, स्थिर सरकार बन्ने सम्भावना बढ्नु लगायतको सकारात्मक प्रभाव बजारमा पर्ने देखिन्छ।
अहिले केही कम्पनीहरूबाहेक समग्रमा बजार अवमूल्यनकै अवस्थामा रहेकाले पनि बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरू बताउँछन्।
मंगलबार सेयर बजार सामान्य घटे पनि यसले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको संकेत गरिरहेको छ।
सोमबार र मंगलबार दुई दिनको कारोबारमा पहिलो दिन नेप्सेमा लामो शरीर भएको हरियो मैनबत्ती आकृति बनेको छ। दोस्रो दिन तल्लो लामो धागो भएको रातो मैनबत्ती बनेको छ।
यो हेर्दा 'डार्क क्लाउड कभर बियरिस' प्रवृत्ति जस्तो देखिन्छ। यो प्रवृत्तिमा दोस्रो दिन बनेको मैनबत्तीको बन्द विन्दु अघिल्लो दिनको मैनबत्तीको शरीरको मध्यभन्दा तल बनेको हुनुपर्छ।
मंगलबार भने नेप्से निकै तलसम्म पुगे पनि बन्द हुँदा अघिल्लो दिनको मैनबत्तीको शरीरको मध्यभन्दा माथि नै रहन सफल भयो।
'डार्क क्लाउड कभर बियरिस' ले बजार घट्ने दरिलो संकेत गरेको भए पनि मंगलबार हुबहु यस्तो आकृति नबनेकाले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्छ। त्यसबाहेक मंगलबार निकै तलसम्म नेप्से ओर्लिए पनि बजार माथि जानेछ भन्ने पक्ष हावी भयो र केही सुधार देखियो।
त्यसैले आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ।
नेप्सेमा केही समयअघि बनेको गोल्डेन क्रसओभर भने अहिले पनि कायमै छ।
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
सेयर बजार उच्च बढ्दा के कुरामा ध्यान दिने?