वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण भइरहेको फिल्म 'कमला मिस' को छायांकन सकिएको छ।
निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरू गरिएको छायांकन मंगलबार सकिएको लाइन प्रोड्युसन पुस्कर लामाले जानकारी दिए।
उनका अनुसार करिब २३ दिन फिल्मको छायांकन गरिएको थियो। बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले बताए।
मनोवैज्ञानिक कथावस्तुमा आधारित 'कमला मिस' मा निर्देशक नीर शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको मुख्य अभिनय छ।
फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन्। यसका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर्देशक नीर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुवेदीको रहेको भने सगर बोहरा फिल्मको मुख्य सहायक निर्देशक हुन्।
करिब दश वर्षपछि निर्देशनमा फर्किएका नीर शाह नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले यसअघि 'वासुदेव', 'पच्चीस वसन्त', 'राजमती', 'वसन्ती', 'मसान' र 'सेतोबाघ' जस्ता चर्चित फिल्म निर्देशन गरेका छन्।
यस वर्ष सबभन्दा धेरै कमाउने फिल्म 'परान' मा नीर शाह शीर्ष भूमिकामा थिए।