निर्देशक चन्द्र पन्तले नयाँ फिल्म 'आ बाट आमा' निर्देशनको घोषणा गरेका छन्।
उनले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।
सार्वजनिक पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको देखाइएको छ। रोइरहेकी आमालाई बच्चाले आँशु रोक्ने प्रयत्न गरेको पोस्टरमा देखिन्छ। यसबाट आमाप्रति सन्तानको मायाको कथामा फिल्म बन्न लागेको अनुमान गर्न सकिन्छ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट सुरू गरिने जनाइएको छ। कलाकार को–को हुनेछन् भन्नेमा जानकारी दिइएको छैन। फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन्।
निर्देशक पन्तका अनुसार अहिले फिल्मको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो। केही दिनमा कलाकारका साथै यस फिल्मको प्राविधिक पक्षबारे जानकारी दिइने छ।
निर्देशक चन्द्रले यसअघि एक्सन जनराको फिल्म 'ह्रस्व दीर्घ' निर्देशन गरेका थिए। दर्जनौं नेपाली फिल्ममा द्धन्द्ध निर्देशन गरिसकेका उनले भोजपुरी फिल्ममा समेत काम गरेका छन्।
उनको निर्देशनमा बनेको 'ह्रस्व दीर्घ' लाई लिएर निकै चर्चा भएको थियो। नेपालीसहित थुप्रै भारतीय कलाकारहरूले अभिनय गरेको उक्त फिल्मले कमाइ पनि सुखद् गरेको थियो।
फिल्मलाई भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइब’ ले समेत किनेको थियो। विदेशमा समेत आफ्नो फिल्मले सफलता पाइसकेपछि चन्द्रले नयाँ फिल्म निर्देशनको घोषणा गरेका हुन्।
'आ बाट आमा' को निर्माण घोषणासँगै प्रदर्शन मिति समेत तोकिएको छ। फागुन १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।