वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म बन्न सफल 'ऊनको स्वीटर' चौथो सातामा प्रदर्शनरत छ।
चौथो सातासम्म आइपुग्दा पनि यसले दर्शकको साथ पाइरहेको छ। यसै खुसीमा निर्माण टिमले दर्शकसँग केक काटेर खुसी साटेको छ।
मंगलबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा फिल्म हेरेका दर्शकहरूमाझ केक काटेर खुसीयाली साटिएको हो।
त्यहाँ फिल्मका प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, संगीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायांकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो।
केकमा फिल्मका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो। निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि नभइ दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास हो। उनका अनुसार, 'ऊनको स्वीटर' ले १० करोड ग्रस कलेक्सन गरेपछि गोलाप्रथामार्फत सिनेमा हल छानिएको थियो, जसमा एफक्युब हल परेकोले त्यहीँ कार्यक्रम आयोजना गरिएको चौहानले बताए।
निर्देशक चौहानले भने, 'हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन, तर दर्शकलाई माया तिर्नुपर्ने हो। यही माया साट्न केक काट्यौं।'
यो फिल्म हाल नेपालमा १ सय भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा प्रदर्शन भइरहेको छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ।
फिल्मले तीन सातामा १० करोड ५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको विवरण निर्माण पक्षले सार्वजनिक गरेको थियो। त्यसयताको कमाइ सार्वजनिक गरिएको छैन।