समाजमा अपाच्य हुने र सामाजिक सद्भाव भड्काउने भन्दै केही गीतविरूद्ध आइतबार दुई संस्थाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिए।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको छुट्टा–छुट्टै टोली साइबर ब्युरो पुगेर गीतहरू किटान गर्दै उजुरी दिएका हुन्।
दोहोरीगीत प्रतिष्ठानले निवेदनमा उल्लेख गरेका गीतबारे मिडियामा खुलाएको छैन। ती कुन–कुन गीतहरू हुन खुलाउँदा समाजमा झनै भाइरल हुने र गीतले राम्रो भ्युज पाउँदा गीत ल्याउनेहरू झनै हौसिन सक्ने भएकाले नखुलाइएको प्रतिष्ठानको भनाइ छ।
यता लोक सञ्चारकर्मीले तीनवटा गीतविरूद्ध उजुरी दिँदै ती गीतहरू कुन–कुन हुन सार्वजनिक गरेको छ। लोकदोहोरी गीत प्रतिष्ठानले पाँच गीतविरूद्ध उजुरी दिएको हो। ती गीतहरू लोकदोहोरी र तीज विशेष छन्। गीतमाथि छानबीन गरी कानुनी कारबाहीको माग गर्दै उजुरी परेको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार दोहोरीगीत प्रतिष्ठानले पाँच र लोक सञ्चारकर्मीले तीनवटा गीतविरूद्ध निवेदन दिएका हुन्।
'उहाँहरूले हिजो बेलुकातिर निवेदन दिएर जानुभएको छ। त्यसमध्ये दुवैकोमा दुईवटा गीत मेल खान्छ। जम्माजम्मी ६ वटा गीत छन्', अवस्थीले भने, 'उहाँहरू जे भनेर निवेदन दिनुभएको छ। त्यो साँचो हो कि होइन हाम्रो टिमले हेर्दैछौं। शब्दमा खराबी हो कि, भिडिओमा खराबी हो हामी हेरेर अगाडि बढ्छौं।'
उनले आफूहरूले गीत हेरेपछि छलफल गरेर मात्रै अगाडि बढ्ने बताए।
प्रवक्ता अवस्थीले अगाडि भने, 'शब्द हो कि भिडिओ अपाच्य हो? को जिम्मेबार हो भनेर हेर्नैपर्छ। यसका लागि टिम बनाएका छौं। सबैलाई एउटै टोकरीमा राख्न मिल्दैन। कहिलेकाहीँ निर्देशकको पनि कमजोरी हुन्छ। अहिले अनुसन्धानमै छौं। भिडिओ हेरेपछि जिम्मेबार को भनेर निर्क्यौल गरेर मात्रै अगाडि बढ्छौं। आवश्यक परेर सबन्धितलाई बोलाएरै कुरा गर्छौ।'
गीत संगीतमा देखिएको विकृतिबारे लोकदोहोरी कलाकार र सञ्चारकर्मीले गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै त्यस्ता गीत रोकिदिन राज्यका निकायले पहल गर्न आग्रह गरेका थिए। त्यस क्रममा गृहमन्त्री लेखकले अपाच्य गीतमा सरकारले कडाइ गर्ने जनाएका थिए।
गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति हेर्न प्रहरीको साइबर ब्युरोमा छुट्टै फोकल पर्सन तोक्न समेत निर्देशन दिएका थिए। उनले गीतमा अश्लिलता, अपमानजनक व्यवहार, घृषा फैलाउने अभिव्यक्तिहरू भए त्यसमा साइबर ब्युरोले एक्सन लिने प्रतिबद्धता जनाएका थिए। उनको प्रतिबद्धतासँगै लोकदोहोरी कलाकारहरू साइबर ब्युरो पुगेका हुन्।
पछिल्लो समय खासगरी लोकदोहोरी र तीज विशेष गीतमा विकृति भित्रिएको भन्दै स्रोता तथा दर्शकबाट समेत तिव्र गुनासो सुन्न थालिएको छ।