भारतीय फिल्म 'सैयारा' को आकर्षक कमाइले धेरैलाई अचम्मित बनाइरहेको छ।
दोस्रो सातामा पनि राम्रो कमाइ गरिरहेको फिल्मले स्टारका फिल्मलाई समेत चुनौती दिँदै धेरै नयाँ रेकर्डहरू समेत बनाएको छ। यसैबीच, सिनेमा हलमा यो फिल्मको दबदबा कायम रहँदा शुक्रबारदेखि दुई नयाँ भारतीय फिल्म रिलिज हुँदैछन्।
अगस्ट १ (साउन १६) देखि प्रदर्शनमा आउन लागेका 'सन अफ सरदार २' र 'धडक २' दुवै फिल्मको सिनेमा हलहरूले अग्रिम बुकिङ खुलाएका छन्।
नेपालका सिनेमा हलमा पनि यी दुवै फिल्म शुक्रबारदेखि लाग्दैछन्।
'सन अफ सरदार २' अजय देवगनको प्रतीक्षित फिल्म हो। सन २०१२ मा रिलिज 'सन अफ सरदार' लाई दर्शकहरूले रूचाएका थिए। त्यसको १३ वर्षपछि कमेडी ड्रामा 'सन अफ सरदार २' प्रदर्शनमा आउन लागेको हो।
अजयसहित मृणाल ठाकुर, रवि किशन, सञ्जय मिश्रालगायत कलाकारहरू अभिनीत 'सन अफ सरदार २' लाई विजय कुमार अरोराले निर्देशन गरेका हुन्। यसलाई जियो स्टुडिओ र देवगन फिल्मस्ले प्रस्तुत गरेको हो भने अजय देवगन र ज्योति देशपाण्डे निर्माता हुन्।
त्यस्तै, 'धडक २' लाई जी स्टुडिओ, धर्मा प्रोडक्सन र क्लाउड ९ पिक्चर्सले प्रस्तुत गरेको हो। शाजिया इकबालको निर्देशन रहेको यो फिल्ममा सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरीले मुख्य भूमिकामा अभिनय गरेका छन्। प्रेमकथामा बनेको ‘धडक २’ पनि हिट फिल्मको सिरिज हो। करण जोहरसहितले यसलाई निर्माण गरेका हुन्।
यी दुवै फिल्मको नेपालका सिनेमा हलमा समेत बुकिङ खुला भइसकेको छ।
नेपाली फिल्म तीन सातापछि
सिनेमा हलमा तीन साताको अन्तरालपछि नयाँ नेपाली फिल्म रिलिज हुँदैछ। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको 'रियाल रिंगेट' को हलहरूले टिकट बुकिङ खुलाइसकेका छन्।
असार २७ मा रिलिज 'यो मत त मेरो नेपाली हो' पछि यो नेपाली फिल्म हलमा लाग्न लागेको हो।
विभोर पोखरेलको निर्देशनमा बनेको यो फिल्ममा प्रमोद चौलागाईं र नीता ढुंगाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरूङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापालगायत कलाकारहरूको अभिनय छ। गगनलाल प्रधान निर्माता रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।
यो सामाजिक फिल्मले वाध्यताले कामको खोजीमा आफ्नो मातृभूमि छोडेर खाडी देशहरूमा जाने मजदुरहरूको कथा बताउँछ।