दसैंमा प्रदर्शनमा आउन लागेको फिल्म 'हरिबहादुरको जुत्ता' को नयाँ गीत सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक 'ढाका टोपी शिरैमा' बोलको गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ।
भिडिओमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कासहित फिल्मका शीर्ष कलाकार वरिष्ठ अभिनेता हरिवंश आचार्य फिचर्ड छन्।
गीतका शब्द धन बहादुर कार्कीका हुन् भने दीपक शर्माको संगीत, श्यामश्वेत रसाईलीको एरेन्ज छ। भिडिओका कोरियोग्राफर किरण थापा र रविता मगर हुन्।
लोक शैलीमा तयार गीतमा मायाप्रेमका कुरा गरिएको छ।
फिल्म 'हरिबहादुरको जुत्ता' टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्रमाथि रहेर निर्माण भएको हो। दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा वरिष्ठ अभिनेता हरिवंश आचार्य शीर्ष भूमिकामा छन्। साथमा प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले यस फिल्मको निर्माण गरेका हुन्। फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन्।
'हरिबहादुरको जुत्ता' असोज १३ गते दसैं फूलपातीदेखि प्रदर्शनमा आउनेछ।