फिल्म चले त्यसको जस लिन तँछाडमछाड गर्ने, तर नचले असफलताको दोष अरूलाई दिएर पन्छिने प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा नयाँ होइन।
फिल्मको व्यापार कमजोर भएपछि निर्माता, निर्देशकदेखि लेखक र प्राविधिकसम्मलाई दोष दिने गरिन्छ। अभिनेता तथा निर्माता दीपकराज गिरीले भने आफ्नो फिल्मको असफलताको जिम्मेवारी आफैं लिने बताएका छन्।
यसपालि दसैंमा प्रदर्शनमा आएको उनको फिल्म 'छ माया छपक्कै २' ले अपेक्षित व्यापार गर्न सकेन। यसअघि लगातार सुपरहिट फिल्म दिँदै आएको दीपकराज-दीपाश्रीको टिमलाई यसपटकको नतिजाले धक्का दियो।
फिल्मको व्यावसायिक नतिजापछि दीपकले मंगलबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै हारलाई खुलेर स्वीकार गर्नुपर्ने बताएका हुन्।
दीपकले लेखेका छन्, 'जीत हुँदा ढोल पिटेर नाच्ने, हार्दा चाहिँ गल्लीभित्र लुसुक्क छिरेर चुपचाप बस्नुको अर्थ पनि छैन। छाती खोलेरै हारियो भन्न सक्नुपर्छ। हारको पनि विश्लेषण गर्नुपर्छ र अगाडि पनि बढ्नुपर्छ।'
उनले आफ्नो व्यक्तिगत कमजोरी महसुस गरिसकेको समेत उल्लेख गरेका छन्। साथै, अन्य फिल्मकर्मीले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
फिल्म निर्माणका क्रममा निर्माता, निर्देशक, लेखक तथा प्राविधिकबीच दोषारोपण गर्ने प्रवृत्तिमाथि पनि दीपकले व्यंग्य गरेका छन्। फिल्म राम्रो नहुँदा एकले अर्कोलाई दोष दिनेभन्दा सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
दीपकले फिल्म क्षेत्रमा बढ्दै गएको आपसी प्रतिस्पर्धा र एकअर्कालाई कमजोर देखाउने प्रवृत्तिप्रति पनि प्रश्न उठाएका छन्।
दीपकले लेखेका छन्, 'मैले जसरी पनि जित्नुपर्छ भनेर मैले खेलेको खेलको असरले बिस्तारै आफैंलाई हार्ने वातावरण त बन्दै छैन? आफू अलि अगाडि देखिनका लागि गरिएका हाम्रा गतिविधि कतै आफ्नै खुट्टामा बन्चरो त साबित हुँदै छैनन्?'
दीपकले दर्शकका सुझावलाई आत्मसात् गरेर आगामी वर्ष फेरि हलमा आउने प्रतिबद्धता पनि जनाएका छन्।
यसपालि असोज ३० गते 'आबाट आमा २' र '१२ गाउँ २' रिलिज भएका थिए भने त्यसको भोलिपल्ट 'छ माया छपक्कै २' रिलिज भएको थियो।
यीमध्ये 'छ माया छपक्कै २' ले कात्तिक १५ गतेसम्म बक्स अफिसमा ३ करोड ३४ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। १ लाखभन्दा बढी दर्शकले यो फिल्म हेरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ।
फिल्म अझै प्रदर्शनरत छ।