बक्स अफिसमा कीर्तिमानी व्यापार गरेको ब्लकबस्टर फिल्म 'पूर्ण बहादुरको सारंगी' का निर्देशक सरोज पौडेलले नयाँ फिल्मको घोषणा गरेका छन्।
पौडेलले आगामी फिल्मको नाम 'सिन्दुरे जात्रा' रहने जानकारी दिएका हुन्।
'टाइटल अनाउन्समेन्ट' भिडिओ सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। सार्वजनिक २६ सेकेन्डको टिजरमा फिल्मको शीर्षक मात्र देखाइएको छ। पृष्ठभूमिमा सिन्दुरे जात्राको मन्त्रोचारण जस्तो सुनिने आवाज गुञ्जिरहे पनि शब्दहरू भने स्पष्ट बुझिँदैनन्।
फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन्। नुवाकोटको प्रसिद्ध ऐतिहासिक पर्व ‘सिन्दुरे जात्रा’ को नाममा फिल्मको शीर्षक जुराइए पनि यसको कथावस्तु सोही जात्रामा आधारित हुने वा नहुने भन्ने विषयमा निर्देशक पौडेलले खुलाएका छैनन्।
'सारंगी फिल्म्स' को प्रस्तुति रहने फिल्ममा प्रभाकर श्रेष्ठ निर्माताको रूपमा छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने ओएसआर डिजिटल डिजिटल पार्टनरको रूपमा जोडिएको छ।
सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहने फिल्ममा अभिनय गर्ने कलाकारहरू र प्रदर्शन मिति भने केही समयपछि मात्र सार्वजनिक गरिने निर्देशक पौडेलले बताए।
निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको अर्को फिल्म 'कोशेढुंगा' केही महिनाअघि प्रदर्शनमा आएको थियो। उक्त फिल्मले भने दर्शबाट राम्रो प्रतिक्रिया पाए पनि अपेक्षित व्यापार गर्न सकेको थिएन्।