व्यवसायिक सफल फिल्म 'झिंगेदाउ' को सिक्वेलको छायांकन थालिएको छ।
निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट 'झिंगेदाउ २' को छायांकन सुरू गरेका हुन्।
सोमबार शुभमुहूर्तसहित छायांकन थालिएको फिल्ममा साढे तीन करोड लगानी रहने निर्माता समेत रहेको निर्देशक देउजाले बताए।
मुहूर्त सट फिल्मका मुख्य अभिनेता आर्यन सिग्देलले दिएका थिए। काभ्रेको पनौतीमा भव्य सेट लगाएर छायांकन थालिएको फिल्मको सुटिङ सेड्युल ६० दिन राखिएको छ।
काभ्रेपछि काठमाडौं, भक्तपुर, तनहुँ, देवघाट, दोलखा, चित्लाङ र पालुङमा फिल्मको छायांकन गरिनेछ। अर्को वर्षको दशैंमा रिलिज लक्ष्य राखिएको फिल्मको कथा ‘झिंगेदाउ’ सकिएको दृश्यबाट नै सुरू हुनेछ।
फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरूषलगायत कलाकारहरूको अभिनय रहनेछ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा फिल्म निर्माण हुन लागेको हो। निर्देशक ज्ञानेन्द्र देउजाकै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुँयाल र शिशिर चालिसेले लेखेका हुन्।
रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरूङको सम्पादन रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर, चन्द्र भण्डारी मुख्य सहायक निर्देशक, पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन्।
विष्णु घिमिरे 'कल्पित' को छायांकन रहने फिल्मको निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन्।